काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर आदेश नदिन चेतावनी दिएकी छिन् । आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यलय प्रवेश गराउने क्रममा सुनिताले कि मेयर अगाडि आउनुपर्ने नभए कोठामा बसेर आदेश दिन नपाइने बताएकी हुन् ।

‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ’, उनले भनिन् । ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन ।

कर्मचारी–कर्मचारीबिच लडाइँ हुनु पनि राम्रो होइन ।’ गुरागाईंले मेयर बालेनले लगाएको ताला तोडेर साढे तीन महिनापछि जिम्मेवारी सम्हालेका छन् । गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत गरेका थिए । गुरागाईंलाई अवरोध गर्न मेयर साहले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरेका हुन् ।