काठमाडौं । मधेस केन्द्रित सात दलले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाले १३ वटा आचारसंहिता तय गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रम गरि घोषणा गरिएको मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका रहेका छन्।

आचारसंहितमा मोर्चाका आवद्ध दलहरुले सार्वजनिक रुपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुतदेखि मोर्चाको उद्देश्य विपरित नहुने गरि अन्य मोर्चामा आवद्ध हुन वा अन्य दलहरुसँग एकीकरण गर्न वाधा नहुने उल्लेख छ ।

यी हुन् मोर्चाका आचारसंहिता

-मोर्चाको बैठक आलोपालो सबै घटक दलको कार्यालय वा संसदीय दल वा दलहरुको सुविधा हुने ठाँउमा राखिने छ ।
-मोर्चाको बैठक आयोजना गर्ने दलले नै उक्त दिनको बैठकको अध्यक्षता र मिडिया संयोजन तथा मिडिया ब्रिफिङ गर्नेछ ।
-मोर्चामा सहमति वा निर्णय गरिएका एजेन्डा र कार्यक्रम सबै घटक दलले पालना गर्नेछ ।
-मोर्चाका निर्णयहरु सहमतिका आधारमा गरिनेछ । यसरी सहमतिका आधारमा गरिएका निर्णयहरु नै मोर्चाका आधिकारीक निर्णय र धारणा हुनेछ ।

-मोर्चासँग विचार मिल्ने दललाई मोर्चाको निर्णय अनुसार मोर्चामा सहभागी गराउन वा त्यस्तो दलसँग सहकार्य गर्न अथवा आमन्त्रित दलको रुपमा सहभागी गराउन सकिनेछ ।
-मोर्चाका आवद्ध दलहरुले सार्वजनिक रुपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुत गर्नेछ । तर वैचारिक एवं सैद्धान्तिक सवालमा आ–आफ्नो विचार सार्वजनिक गर्न बाधा पर्ने छैन ।
-आवश्यक कार्यविधि निर्माण गरी मोर्चाका आवद्ध दलहरुबीच विभिन्न क्षेत्र, तहहरुमा सहकार्य गर्न सक्नेछ ।
-मोर्चाको मुल समितिमा प्रत्येक घटक दलबाट अध्यक्ष सहित बढीमा ३ जनासम्म सदस्य राख्न सकिनेछ ।
-मोर्चाको नियमित बैठक संचालन र व्यवस्थापनको निम्ति प्रत्येक घटक दलबाट एकरएक जना सदस्य रहने गरी सचिवालय गठन गरिनेछ । सचिवालयले एजेन्डा, योजना र कार्यक्रमको खाका तयार गरि मुल समितिमा पेश गर्नेछ । यसका अतिरिक्त तोकिएका कार्यहरु गर्नेछ ।
-मोर्चाले आवश्यकता अनुसार विभिन्न समितिरकार्यदलहरु गठन गरी कार्य गर्न सक्नेछ ।
-मोर्चाका घटकदलहरु मध्ये अधिकांश दललाई कुनै पनि विषयमा तत्काल छलफल गर्न आवश्यक लागेमा बैठक डाक्न सक्नेछ । बैठकको छुट्टै माइन्युट हुनेछ र त्यसको व्यवस्थापन सचिवालयले गर्नेछ ।
-बैठकमा सहभागीहरुले मर्यादित रूपमा सदभावपुर्ण वातावरणमा आ–आफ्नो पार्टीको तर्फबाट धारणा राख्नेछन् ।
-मोर्चामा आवद्ध दलहरू मोर्चाको उद्देश्य विपरित नहुने गरि अन्य मोर्चामा आवद्ध हुन वा अन्य दलहरुसँग एकीकरण गर्न वाधा हुने छैन ।