बुटवल । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी कसुरमा दुई महिनादेखि पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) एवं गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशी अस्वस्थ भएका छन् । उच्च रक्तचाप, शरीरमा चिडचिडाहट लगायतका समस्या देखिएपछि उनलाई कारागार प्रशासनले मंगलबार बेलुका अस्पताल भर्ना गरेको हो ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले माघ २८ गते जोशीलाई तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नमिल्ने भन्दै पुर्पक्षका लागि कारागार पठाएको थियो । त्यसलगत्तै उनले माघ ३० गते नै उच्च अदालत बुटवल इजलासमा जिल्ला अदालतको आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका थिए ।
गत शुक्रबार उच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेको थियो । उच्चले शुक्रबार जोशीको हकमा जिल्ला आदेश सदर गर्दै अर्का प्रतिवादी रवि लामिछानेलाई पनि थुनामै राख्ने आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि लामिछाने पनि सोही कारागारको ब्लक नं. ४ मा रहेका छन् । जोशी ब्लक नं. २ मा छन् ।
जोशी र उनको परिवार उच्च अदालतबाट थुनामुक्त हुनेमा धेरै आशावादी थिए । तर, त्यही अनुसार आदेश नआएपछि उनी बिरामी परेको पारिवारिक स्रोतले बतायो । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा जोशीलाई प्राध्यापक एवं डा. सन्दीप सुवेदीसहितको टोलीले हेरिरहेको छ । डा. सुवेदी साइकाट्रिक कन्सल्ट्यान्ट हुन् ।
जोशी कारागार प्रशासनको निगरानीमा अस्पतालको क्याबिनमा रहेको सूचना अधिकारी गुरुङले बताए । सुप्रिम सहकारी ठगी प्रकरण मुद्दामा जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र १० करोड ९९ लाख ३६ हजार रुपैयाँ संयुक्त बिगो दाबी गरिएको छ ।
संवाददाता










