काठमाडौं । भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइँदै छ।

चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको भएपनि त्यहाँ उनका समर्थकको भीड रहेका कारण सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै भद्रपुर विमानस्थल मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।

यता, प्रसाईंको सामाजिक सञ्जाल फेसबुकमा उनी आज बिहान करिब ९स्३० बजे काठमाडौं आन्तरिक टर्मिनलमा आइपुग्ने उल्लेख गरिएको छ।

प्रसाईंको फेसबुकमा बिहीबार पनि आफूले प्रहरी समक्ष आत्मसमर्पण गरेको सूचना राखिएको थियो। आत्मसमर्पण गरेका प्रसाईंको उक्त फेसबुकबाट कसले सूचना प्रवाह गर्छ यसबारे भने केही खुल्न सकेको छैन।

आजसम्म कहाँ थिए ?
स्रोतका अनुसार दुर्गाले आफ्नो यात्रा पशुपतिनगरबाट सुरु गरेका थिए। त्यसपछि दार्जिलिङ हुँदै भारत प्रवेश गरेका थिए। पछि उनी आसामको बक्सा जिल्लाको निकासी गाउँमा २ दिनसम्म अर्थात् ७ अप्रिलसम्म बसेका थिए।

त्यसपछि उनी बक्साबाट अबेर राति निस्किएर गुवाहाटी प्रवेश गरेका थिए। खबर अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए।

त्यति नै बेलामा यो कुरा आसामका डिजी प्रहरी महानिर्देशकलाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।