काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज हुने कार्यसमिति निर्वाचनका लागि भुवन गुरुङ र नरेश गेलाल समुहले आ आफ्ना समुहको अन्तिम सभा सम्पन्न गरेर निर्वाचनमा होमिएका छन । चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका छन । तर पुराना र नया २०५ व्यवसायी मतदाता अझैसम्म पनि कता मतदान गर्ने भनेर अन्योल र अनिर्णित अवस्थामा रहेका छन । उक्त अनिर्णित अवस्थामा रहेका मतदाताले अन्तिम परिणामलाई प्रभावित गर्ने देखिएको छ ।
यसपटकको निर्वाचनमा २०० भन्दा बढी नयाँ ब्याबसायी थपिएकाले र राजनितिक दलका उम्मेदवारहरु मिलेर संयुक्त प्यानल बनाएकाले निर्वाचनको अनुमान गर्न गार्हो भएपनि दुबै समुहले जित्ने दावी गर्दै आएका छन । ९०३ मतदाता रहेकोे संघमा यसपटक कडा प्रतिस्पर्धा हुने निश्चित छ । हाल दुबै समुहका व्यवसायलाई स्वच्छ, पारदर्शी र मर्यादित बनाउने, व्यवसायीको हितमा काम गर्ने, सिन्डिकेट बिरुद्ध लड्ने प्रतिबद्धता जाहेर ब्यक्त गरेका छन । त्यस्तै सय संख्याको समस्या समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता समस्याहरु समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
अहिले उम्मेदवारहरुले बिभागमा उजुरी परेका व्यवसायीको सहयोग गरेको, मेलमिलापमा सहयोग गरेको देखि युटुवरहरुको आतंकलाई नियन्त्रण गर्न भूमिका खेलेको विषयमा समेत ध्यानाकर्षण गर्दै आफू र आफ्नो समूहलाई मत मागेका छन । दुबै समुहले सिन्डिकेटको बिरुद्ध लाग्ने बताएका छन । एकै लाइसेन्स लिएर व्यवसायीको रोजीरोटी खोस्ने गरि जुनसुकै आवरणमा आउने सिन्डिकेट अस्विकार गर्ने गुरुङले बताए ।
यता गेलाल पक्षले पनि सिन्डिकेटको बिरोध गरेका छन । गेलाल पक्षले गुरुङ पक्षले निर्वाचन जितेको खण्डमा सिन्डिकेट हावी हुने बताउँदै गर्दा गुरुङ पक्षले भने अधिकांश सिन्डिकेट गर्ने पक्षको समर्थन गेलाल पक्षलाईनै रहेको आरोप लगाए । यो पटकको चुनावमा दुवै पक्षमा बिभिन्न राजनीतिक पार्टी समर्थित व्यवसायीहरुको मिलन रहेको कारण चुनावमा कुन पक्ष हावी रहन्छ आंकलन गर्न नसकिने अवस्था रहेको छ ।
यसपटकको निर्वाचनमा हालसम्मको अवस्था हेर्दा गुरुङ पक्षको पल्ला भारी हुने आंकलन गरिएको छ । काङ्ग्रेस र माओवादी पक्षले इमान्दारीताका साथ गुरुङ समूहलाई मत दिएमा चुनावमा गुरुङ पक्ष बलियो रहेको विश्लेषण गरिएको छ । तर कांग्रेसकै एकपक्ष गेलाल समूहमा जोडिएको कारण धेरैनै मत काटिने हुँदा गुरुङलाई सोचेजस्तो सहज भने छैन । यता एमाले पक्षकै केहि व्यवसायीको साथ गुरुङपक्षलाई रहेको देखिन्छ । कांग्रेस समर्थित व्यवसायीको अन्तरद्वन्दको फाइदा धेरै हदसम्म गेलाल पक्षले लिने आंकलन गरिएको छ । यसअघिको संघको निर्वाचनमा समेत कांग्रेसकै आन्तरिक द्वन्दको बेफाइदा कांग्रेस पक्षलाईनै भएको थियो ।
तेसैले निर्वाचन नसकिएसम्म भन्न सक्ने अवस्था रहेको छैन ।
संघको निर्वाचन प्रतिष्ठाको समेत लडाईको रुपमा हेर्न सकिन्छ । केहि उम्मेदवारलाई राजनीतिक वा समूहको भन्दा पनि व्यवसायी(व्यवसायी बीचको आपसी सम्बन्धको कारण पनि मत बढ्ने अवस्था देखिन्छ । यसअघिको सम्बन्ध, व्यवसायिक र सहजीकरणको कारण पनि केहि उम्मेदवारले निर्वाचनमा जित्ने अवस्था छ ।
संघको आज हुने निर्वाचनमा अध्यक्ष पदमा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ प्यानलका तर्फबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा। लि।का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे डिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले उम्मेदवार दिएका छन् ।
उक्त प्यानलबाट कार्यसमिति सदस्यहरुमा इम्पेरियल ओभरसिज प्रा. लिकी संचालिका विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा। लि।का संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा. लि.की संचालिका गीता राउत, युनिभर्स एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की संचालिका रेखा शर्मा र इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै निर्वाचनमा गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनुमाया सिँजालीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रालिका संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लिका संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा.लिका संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लिकी संचालिका हिमा गुरुङ, रियो ओभरसिज प्रा. लिकी संचालिका रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लिका संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लिका संचालक कामेश्वर साह (राहुल) सिगुल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्स प्रा. लिका संचालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा. लिका संचालक राजेश यादवको उम्मेदवारी रहेको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा उम्मेदवारी दिएका संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लिका संचालक गुरुङ प्यानलका उम्मेदवारले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाएका छन ।
गुरुङले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेकोे बताए । उनले विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएको भन्दै व्यवसायी आफ्नो पेसा व्यवसायका लागि सचेत हुनुपर्ने जिकिर गरे । प्रथम उपाध्यक्षका उम्मेदवार नोकरी नेपाल प्रा. लिका संचालक नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट गतिविधि रोक्न अधिकतम प्रयास गर्ने समूहको लक्ष्य रहेकोे भन्दै व्यवसायीलई घात गर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाए । नेपाली दूतावासहरूमा मागपत्र प्रमाणीकरणका लागि पेस भएपछि प्राथमिकता सूचीका आधारमा प्रमाणीकरण हुने व्यवस्थाको सुनिश्चितता गर्ने पनि ढकालले बताए ।
द्वितीय उपाध्यक्षका उम्मेदवार अलर्ट ओभरसिज प्रा.लिका संचालक देव खोखालीले वैदेशिक रोजगारपीडितका नाममा हुने अराजकताको अन्त्य र व्यवसायी सुरक्षाका लागि काम गर्ने आफ्नो प्रतिबद्धता रहेकोे जनाए । उनले आफुले अहिलेसम्म पनि ब्याबसायिक हकहितमा काम गरिरहेकाले आफुलाई बिजय गराउन आग्रह गरेका छन । तृतीय उपाध्यक्षका उम्मेदवार इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका संचालक हर्क लिम्बूले इमानदार र कर्तव्यनिष्ठ व्यवसायीका समस्या समाधान गर्ने भन्दै सिंगो प्यानललाई मत दिन आग्रह गरे । महासचिवका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लिका संचालक महेशकुमार बस्नेतले व्यवसायीलाई पेसा टेकाउने सुनिश्चितता निर्माण गर्नु वर्तमानको सबैभन्दा महत्त्वपूर्ण विषय रहेकोे बताए । उनले वैदेशिक रोजगारलाई सेवा उद्योगका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै व्यवसाय र व्यवासयी शुद्धीकरण गरी सम्मानित बनाउने, वैदेशिक रोजगार विभागमा बिनाप्रमाणका उजुरी दर्ता रोक्न संयन्त्र बनाउने, व्यवसायीलाई अनावश्यक दुःख दिनेको पहिचानका लागि ब्ल्याकलिस्ट सफ्टवेयर निर्माण गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
सचिव पदका उम्मेदवार आकृति रिक्रुटिङ प्रा.लिका संचालक कुन्छा दोर्जे डिम्दोङले व्यवसायीलाई समस्या र आर्थिक भार पार्नेगरी वैदेशिक रोजगार ऐनमा संशोधन गर्न लागिएको अवस्थामा त्यसलाई रोक्न संघको नेतृत्व इमानदार, बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीले उम्मेदवारको पहिचान गरेर मतदान गर्न आग्रह गरे । कोषाध्क्षका उम्मेदवार शुभ हारती मेनपावर प्रा. लिका संचालक विक्रम श्रेष्ठले विभिन्न स्रोतहरूको खोजी गरी आर्थिक रूपमा संघलाई बलियो बनाउने बताए । उनले आर्थिक कारोबारलाई पारदर्शी बनाई व्यवसायीको लेबीमा मात्र निर्भर नगराई अन्य स्रोतहरूको खोजी गर्ने बताए ।
यता प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्णयविरुद्ध उभिएको फरक समुह र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार रहेका मञ्चका पूर्वअध्यक्ष रहेका नरेश गेलाल प्यानलले अन्तिमसम्म पनि आफुहरु सक्रिय रहेको बताएका छन् । अध्यक्षका उम्मेदवार नरेश गेलालले व्यवसायीमा समस्याको छिटो समाधान गर्ने आवश्यकताअनुसार प्रमुख २ घटकको तालमेल र अन्य क्षेत्रीय संस्था तथा व्यवसायीको समर्थनमा आफू चुनावी मैदानमा आएको बताएका छन् ।
संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पुर्याउने गेलाल समुहको प्रतिवद्धता छ । गेलालले आफ्नोे प्यानलको कार्यसमितिले आगामी २ वर्षे अवधिमा संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता वर्षौंदेखि थाँती रहेका समस्या समाधान गरेरै छाड्ने भन्दै कुनै दुविधा नराखी प्यानललाई आफ्नो मत प्रदान गर्न आग्रह गरे । संघलाई राजनीतिक खिताचानीबाट मुक्त समस्या समाधान मुखी बनाउने प्रतिबद्धता जनाए । प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले संख्या सयको समस्या समाधान गरेर व्यवसायीलाई तत्कालै राहत दिनेदेखि जब फेयर गरेर युरोपको श्रम बजारमा नेपाली कामदार पठाउन अवसरको सिर्जना गर्नेसहितका दर्जन बढी योजनामा काम गर्ने बताए ।
दितिय उपाध्यक्षका उम्मेदवार मधुकर रिजालले आफूले ब्याबसायिक हकहितको लागिनै उम्मेदवारी दिएको बताए । तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल वैभवले यसअघि जस्तै कूटनीतिक नियोगहरूसँग समन्वय गरेर व्यवसायीका समस्या समाधान र कामदारको हकहितको संरक्षण गर्ने बताए । महासचिव कर्णराज कटुवालले मागपत्र प्रमाणीकरण संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधान, धरौटीबाट व्यवसायीलाई ब्याज दिलाउनेलगायतका गेलाल प्यानलले जनाएका प्रतिबद्धताअनुसारको काम गर्ने बताए । उनले आफू महासचिवको उम्मेदवार बनेपछि केही व्यवसायी पूर्वाग्रही भएर भ्रमको खेतीमा लागेका भन्दै त्यस्ता भ्रमहरूबाट भ्रमित नहुन आग्रह गरे । सचिवका उम्मेदवार अनिल बोगटीले व्यवसायीलाई सुरक्षित गर्न सिन्डिकेटको विरोधमा नेतृत्व अलमलमा परे खबरदारी आफ्नो प्रमुख एजेन्डा भएको बताए ।
कोषाध्यक्षकी उम्मेदवार धनुमाया सिँजालीले संघलाई नवीन आर्थिक सोचका साथ अघि बढाउने प्रतिबद्धता जनाइन । यता, संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी पनि दिएका छन । जसमा प्रथम उपाध्यक्ष पदमा ओभरसीज इम्प्लोईमेन्ट प्रा।लिका संचालक अख्तर हुसेन र सचिव पदमा अक्सन इन्टरनेशनल प्रा।लिका संचालक ईश्वर सापकोटाले उम्मेदवारी दिएका छन् । सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका सापकोटाले सचिव पदमा कांग्रेस(एमालेको तर्फबाट कुनै उम्मेदवार नभएको र कांग्रेसभित्रै पनि अन्तरद्वन्द रहेको कारण आफूले स्वतन्त्र उम्मेदवार भएकाले सबै व्यवसायीले आफूलाई मतदान गर्ने आशा(भरोशा लिएर चुनावमा होमिएको बताएका छन् । दुवै स्वतन्त्र उम्मेदवारले आफूहरु जित्ने दावी गर्छन ।
संवाददाता










