पर्सा । पर्सामा दुई पक्षबीच झडप भएपछि लगाइएको कर्फ्यूका कारण आइतबार बिहान वीरगञ्ज सुनसान देखिएको छ । हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुवै पक्षबीच झडपमा भएको थियो । दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले शनिबार बेलुकी ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू लगाएको हो । अहिले पनि कर्फ्यू जारी छ भने सडक तथा चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यू लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरिएको पुष्टि गरेका छन् । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यू आदेश जारी गरेको हो । पूर्वमा भेडियाही चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी भएको उनले जानकारी दिए । वीरगञ्जको अवस्था हेरेर कर्फ्यूको समय थप गर्ने वा नगर्ने निणय लिइने उनले बताए ।
हिजो भएको झडपमा पर्साका प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डिएसपी० देवेन्द्र सिंहसहित २५ जना घाइते भएको बुझिएको छ । प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको सिडिओ अर्यालले जानकारी दिए । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको उनले बताए । योसँगै कर्फ्यू पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । वीरगञ्ज–१६ का वृद्ध हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू अवधिभर सर्वसाधारणलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ । तर, दमकल, खानेपानी आपूर्ति, बिरामी बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, दूध बोकेको गाडी तथा पूर्व निर्धारित परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्रवेश पत्र देखाएर आवतजावत गर्न छुट दिइएको छ । दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन् ।
संवाददाता










