काठमाडौँ । भारतीय सेनाले चलाएको ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा गरिएको हवाई हमलापछि कुपवारामा पाकिस्तानको तर्फबाट फेरि गोलाबारी भएको छ। भारतीय सेनाले पनि जवाफी कारबाही गरेको छ । पाकिस्तानी सेनाले लगातार दोस्रो रात जम्मू कश्मीरको कुपवारा जिल्लाको कर्नाह क्षेत्रमा गोलाबारी गरेको बताइएको छ । दुवैतर्फ कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन ।
यो घटनाक्रम मंगलबार बिहान करिब १ः०५ बजे भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पीओके) भित्र कथित आतङ्कवादी पूर्वाधारहरूलाई लक्षित गरी गरेको हवाई हमलापछि भएको हो। भारतीय स्रोतहरूले नौवटा आतङ्कवादी शिविरहरूमा आक्रमण गरिएको र १०० भन्दा बढी लडाकुहरू मारिएको दाबी गरेका छन्। ती स्रोतहरूले मारिएकाहरूमा जैश-ए-मोहम्मद (जेईएम) का नेता मौलाना मसूद अजहरका दस जना परिवारका सदस्य र चार सहयोगीहरू रहेको र उक्त कारबाहीमा २४ वटा मिसाइल प्रयोग गरिएको दाबी गरेका छन् ।
‘अपरेसन सिन्दूर’ नाम दिइएको यो भारतीय कारबाही अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जवाफ भएको बताइएको छ । यो अपरेसनको नाम पहलगाम घटनामा मारिएकाहरूको श्रीमतीहरूको सम्मानमा राखिएको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेसन सिन्दूर’ मा तीनवटै सेनाको भूमिकाको प्रशंसा गर्दै यो ‘नयाँ भारत’ को प्रतिबिम्ब भएको र राष्ट्रिय भावनालाई ध्यानमा राख्दै यो अपेक्षित प्रतिक्रिया भएको बताएका छन् ।
भारतीय हवाई हमलाको प्रतिक्रियामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानी संसद्लाई सम्बोधन गर्दै भारतको कार्यलाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिएका छन् र बदला लिने वाचा गरेका छन् । सीमामा बढेको यो तनावले दुई परमाणु शक्ति सम्पन्न छिमेकी राष्ट्रहरूबीच क्षेत्रीय स्थिरता र थप द्वन्द्वको सम्भावनालाई लिएर चिन्ता बढाएको छ ।
संवाददाता










