काठमाडौं । सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो ।

उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ । वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ । सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ । डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल सम्झौता लगायतका विषयमा छलफल नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बुधबारदेखि चर्केको भारत-पाकिस्तान तनाव शुक्रबार उत्कर्षमा पुगेर शनिबार साँझदेखि युद्धविराम भएको थियो । युद्धविराममा कैयौं देशहरूले मध्यस्थ गरे पनि भारतले दुई देशबीच सिधा कुराकानीबाट युद्धविराम भएको बताएको छ ।

शनिबार अपराह्न दुई देशका डिजिएमओबीच टेलिफोन संवाद भएपछि युद्धविराम भएको भनेर भारतीय सेनाले बताउँदै आएको छ । भारतले अपरेसन सिन्दुरु चलाएर पहलगाममा २२ अप्रिलमा भएको आतंवादी हमलाको जबाफमा पाकिस्तानमा सैन्य कारबाही चलाएको थियो । त्यसको बदलामा पाकिस्तानले शनिबार अपरेसन बनयान उलमर्सुसु घोषणा गरेको थियो ।

अपरेसन सिन्दुरमा भएको कारबाही र क्षतिबारे भारतीय सेनाले आइतबार पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरेको छ । भारतीय वायु सेनाका सैन्य सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले अपरेसनमा एक सय भन्दा बढी आतंककारी मारिएको बताएका छन् । उनले पाकिस्तानी ड्रोन र हवाइ साधनहरूले आक्रमणको प्रयत्न गरिए पनि भारतको बलियो हवाई रक्षा संरचनाले त्यसलाई बिफल पारिएको बताएका छन् ।