काठमाडौं। सरकारले राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध लगाउन सक्ने संकेत गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यस्तो संकेत गरेका हुन् । सरकारको उदारतालाई कमजोरीका रुपमा नलिन गुरुङले चेतावनी दिएका छन् ।
“हामीले उदारतापूर्वक संविधानको, स्थापित लोकतान्त्रिक मूल्यमान्यताको विरोध गर्ने र यो शासन उल्ट्याउन खोज्नेलाई पनि सभा संगठन गर्ने, बोल्ने छुट दिएकै छौँ”, गुरुङले भने, “त्यो हाम्रो कायरता होइन, हाम्रो कमजोरी होइन, हामी डराएर गरेको होइन, त्यसरी दिँदा उनीहरुले हाम्रो कमजोरी नठाने हुन्छ । यो त हामीले उदारतापूर्वक अभ्यास गरुन न भनेर छुट दिएको कुरा हो ।” यद्यपि, सधैँ छुट दिइरहने अवस्था नहुने उनको भनाई छ । संविधान विरोधी गतिविधिलाई सहेर नबस्ने उनको चेतावनी छ ।
“तर, सधैँ यस्तो संविधान विरोधी, जनता विरोधी, व्यवस्था विरोधी क्रियाकलाप गरिराखे भने त्यो चिजलाई सधै सहेर बस्न सकिँदैन्”, उनले भनेका छन्, “सरकार सधै टुलुटुलु हेरेर बस्दैन, त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट । उनीहरुले आन्दोलन गर्ने भनेको छ, हामीले आजको दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ । प्रतिबन्ध पनि लगाउन सक्ने संवैधानिक, कानुनी अधिकार सरकारसँग छ।” राजावादीहरूले आगामी जेठ १५ गतेदेखि राजसंस्थाको पक्षमा निर्णायक आन्दोलन गर्ने बताएका छन् । जसको सम्मुखमा सरकारका प्रवक्ताको भनाई आएको हो ।
संवाददाता










