विराटनगरको रत्ना होटलमा दुई विवादास्पद समूहबीच कुटाकुट भएको छ । आइतबार राति १२ बजे रत्ना होटलको क्यासिनो परिसरमा किरण लामा र रोनाल कँडेलसँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको हो ।

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ । तर प्रहरी मौन बस्नाले विराटनगरको होटल बिग र होटल रत्नामा रहेको क्यासिनोमा नेपाली नागरिकले सहज प्रवेश पाइरहेका छन् ।

दुई समूहबीच कुटाकुट भएपछि प्रहरी पुगेको थियो । प्रहरी पुग्दा दुवै समूह भागिसकेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्रकाश जोशीले होटलमा कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

उनका अनुसार आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले किरण लामा र रोनाल कँडेलविरुद्ध उजुरी दिएका छन् । निकेश विवादास्पद अभिषेक गिरीका भतिज पर्छन् । जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार आइतबार राति अभिषेक गिरी रत्नाको होटलको क्यासिनोमा थिए । (गिरी सम्पर्कमा आउन चाहेनन् । उनका सहयोगीहरु गिरी होटलमा भएको दाबी गर्छ ।) राति करिब १२ बजे किरण लामा र रोनाल कँडेल क्यासिनोमा पुगे । बाउन्सरले उनीहरुलाई प्रवेश दिएनन् । रत्नाको क्यासिनोमा उनीहरुलाई प्रवेश निषेध छ । पटक-पटक प्रवेश गर्दै झगडा गरेका कारण उनीहरुलाई निषेध गरेको थियो ।

बाउन्सरले दुई जनालाई रोकेकै बेला निकेश गिरी सामान लिएर क्यासिनोमा प्रवेश गर्न खोजे । बाउन्सरले उनलाई भित्र जान दिए पनि मदिरा सेवन गरेका लामा र कँडेलले रोके । त्यसपछि हामीलाई छिर्न नदिने भन्दै निकेशमाथि हातपात गरे । निकेशलाई कुटपिट गरेको देखेपछि अभिषेक गिरी क्यासिनोबाट बाहिर आए । उनी सधैं ५/६ जनाको समूहमा हिँड्छन् । ‘त्यसपछि दुई समूहबीच कुटाकुट भयो,’ प्रहरी स्रोतले भन्यो, ‘दुवै पक्षका घाइते छन्, तर प्रहरी पुग्नुअघि भागे ।’

होटलको क्यासिनो अगाडि गिरीको समूहसँग लामा र कँडेलबीच कुटाकुट भएको थियो । अविशेष गिरीको गमला प्रहारबाट टाउकोमा चोट लागेको छ ।

किरण लामा एमालेको नवनिर्वाचित जिल्ला कमिटी सदस्य हुन् । मिटरब्याज असुलीको धन्धामा संलग्न उनलाई एमाले नेताहरुको संरक्षण छ । लामा पर्शुराम बस्नेतको समूहबाट उदाएका हुन् । बस्नेत राजनीतिमा आएपछि लामाले छुट्टै समूह चलाइरहेका छन् । प्रहरी प्रशासनसँग राम्रो सम्पर्क बनाएका उनले जग्गाको कारोबार पनि गर्छन् ।