काठमाडौं । संसद्को जारी अवरोध आजबाट हट्ने भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सदनको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । भिजिट भिसा प्रकरणले सदनको अवरोध कायमै थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले रास्वपालाई पनि साथमै लिएर जान सकिनेमा अन्तिमसम्म प्रयास गरेको थियो । तर, यो दुई बुँदे सहमतिमा रास्वपा सहमत नभएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

सहमतिपत्रमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको हस्ताक्षर रहेको छ । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहालले पनि तीन दलबीच २ बुँदे सहमति भएको स्पष्ट पारे । उनले अब सदन खुल्ने बताए । तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा भनिएको छ,‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

उक्त कार्यलाई अस्तियार दुरूपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।’ यस्तै, दोस्रो बुँदामा लेखिएको छ,‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।