काठमाडौं । प्रतिनिधिसभामा आजको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेका छन् ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर टेबल ठोक्दै विरोध जनाएका हुन् ।
सभामुख घिमिरले पटकपटक उनीहरूलाई आसनग्रहणका आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने रास्वपासहितको विपक्षीको माग छ ।
तर, कांग्रेस(एमाले र माओवादीले भने गत शुक्रबार नै सदन सञ्चालनको विषयमा दुई बुँदे सहमति गरेका छन् । बिहीबारसम्म माओवादी पनि रास्वपाकै मागअनुसार विरोधमा थियो ।
रास्वपाका सांसदहरूले यसअघिको बैठकमा पनि वेल घेराउ गर्दै विरोध जनाएका थिए ।
आजको बैठकमा पनि विरोध जारी राखेपछि सभामुख घिमिरेले रास्वपाकी सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिए ।
संवाददाता










