काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी सांसद पदका लागि उम्मेदवार बन्न नै अयोग्य रहेको ठहर गर्दै बुधबार उनलाई पदमुक्त गर्ने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले मनाङे उम्मेदवार बन्न नै अयोग्य रहेकोले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो । रिट निवेदकले उनको पद प्रारम्भदेखि नै खारेज गर्न माग गरे पनि अदालतले फैसला भएको मितिदेखि मात्र पदमुक्त हुने फैसला सुनाएको छ ।

फौजदारी अभियोगमा दोषी ठहर भई कैद सजाय भोगिरहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कानुनी व्यवस्था रहेको भन्दै अधिवक्ता वीरेन्द्रराज कार्कीले उनको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले रिटलाई आंशिक रूपमा जारी गरेको हो ।