काठमाडौं । संघीय संसद्अन्तर्गत आज छ वटा समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाका तीन वटा समितिको बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमाथि छलफल गर्ने कार्यसूची छ । औषधि व्यवसायीले प्रस्तावित मूल्यको विरोध जनाउँदै आएका छन् ।
प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिमा ‘नेपाल प्रहरीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिलगायत विषयमा छलफल हुनेछ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुँदैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ । बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ । बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदााथि छलफल गर्ने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ ।
संवाददाता










