काठमाडौं । कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट फर्किएपछि यसले पूर्णता पाउने स्रोतले बतायो । स्रोतका अनुसार केही मन्त्रीलाई निरन्तरता दिएर नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर दुवै दलले मन्त्री हेरफेर गर्ने छन् ।

गठबन्धनको समझदारी अनुसार पनि पालो पुर्‍याउने दबाबसमेत रहेकाले एक वर्षे रोटेशनबाट मन्त्रीहरू हेरफेर हुनेछन् । स्रोतले भन्यो, ‘एकाधबाहेक सबै फेर्ने गरी प्रारम्भिक छलफल अघि बढेको छ, प्रधानमन्त्री स्पेनबाट फर्केपछि देउवासँग छलफल गरेपछि टुंगिन्छ । कांग्रेसबाट फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम देउवाले दिएपछि प्रक्रिया अघि बढ्छ ।’ कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्री र पार्टी सभापतिबीच छलफलपश्चात टुंगिने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘यो विषयमा अब प्रधानमन्त्री र सभापतिजीबीच छलफल हुन्छ । हाम्रो बैठकमा पनि मन्त्रीको कार्यशैलीप्रति प्रश्न उठेको भएपनि व्यक्ति नै तोकेर यो फेर्नुपर्छ भन्ने ढङ्गले कसैले कुरा राख्नुभएको छैन । काम राम्रो होस् भन्ने अपेक्षा त सबैको हुन्छ नै ।’ उनले बैठकमा मन्त्री र समग्र सरकारको काम नै प्रभावकारी बनाउनुपर्‍यो भन्ने ढङ्गले कुरा उठिरहेको बताए । महतले थपे, ‘प्रधानमन्त्री फर्किएपछि सभापतिसँग कुरा भइसकेपछि फेर्नेरनफेर्ने निष्कर्षमा पुगिन्छ । अहिले यो हुन्छ मैले भन्न सक्दिनँ । तर, कुरा चाहिँ हुनसक्छ ।’

यी हुन फेरिने सम्भावना मन्त्रीहरु

कांग्रेसबाट उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेृत्वमा अहिले १० जना मन्त्री छन् । कांग्रेसका अन्य मन्त्रीमा रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, तेजुलाल चौधरी खेलकुद, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा र ऐनबहादुर शाही वनमन्त्री छन् । गृह, पर्यटन, कृषि, कानून र ऊर्जामन्त्री विवादमा परिरहेका छन् ।

उनीहरूको कार्यक्षमतालाई लिएर कांग्रेसभित्रै प्रश्न उठिरहेको छ । देउवाले धेरैजसो नयाँ अनुहार पठाउन सक्ने बताइएको छ । यस्तै, एमालेबाट प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कुल ८ जना सरकारमा छन् । जसमा पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि, दामोदर भण्डारी उद्योग, देवेन्द्र दाहाल भौतिक, रघुजी पन्त शिक्षा, मानवीर राई रक्षा र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।

केही मन्त्रीको काममा प्रधानमन्त्री सन्तुष्ट नभएको बताइन्छ । ओलीले पनि नयाँ अनुहारलाई नै जोड दिने पार्टीमा चर्चा छ । शिक्षामन्त्री रघुजी पन्तबाहेक एमालेबाट सबै मन्त्रीको एक वर्षे कार्यकाल सकिदैछ । बजेट कार्यन्वयन गर्नेसमेत जिम्मेवारीका कारण अर्थमन्त्री बिष्णु पौडेलबाहेक अरु को को मन्त्रीले निरन्तरता पाउँछन् भन्ने एमालेमा प्रश्न उठेको छ । यस्तै, अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादव खानेपानी, नवलकिशोर साह सुडी महिला र लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री छन् । जसपा र लोसपाबाट सरकारमा गएका मन्त्रीहरूको पनि कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन् ।