काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको उनका संवाद सचिव डा. फणिराज पाठकले जनाएका छन् । उनी यसैसाता जाने भनिए पनि पाठकको सूचनामा दिन भने खुलाइएको छैन । पछिल्लो समय पूर्वराजाको चर्चा सडकदेखि सदनमा चलिरिहँदा राजावादीहरू पनि हौसिएका छन् ।

के गर्लान् राजावादीहरु ?

गत साता पूर्वराजा पोखराबाट काठमाडौँ फर्किँदा राजावादीहरुले शक्ति प्रदर्शन गरे । त्यो आइतबारको दिन काठमाडौँको चक्रपथको सडक दिउँसो २ बजेपछि ठप्पप्रायः नै भएको थियो । सो क्रम राति ८ बजेसम्मै चलेको थियो । पूर्वराजा एयरपोर्टदेखि गाडीमा जाँदा राजावादीहरुसँगै स्थानीयलाई हात हल्लाउँदै गएका थिए ।

हजारौँको संख्यामा राजावादीहरु सडकमा उत्रिएका थिए । यस्तो लाग्थ्यो कि राजावादीहरुले पूर्वराजालाई उनको निवास निर्मल निवासमा हैन नारायणहिटीमा लैजादै छन् । केही उश्रृंखलले त त्यति नै बेला पूर्वराजालाई नारायणहिटी भित्र्याएर श्रीपेच लगाइदिने भन्दै उत्तेजित प्रतिक्रियासमेत दिएका थिए ।

तर केही इमान भएका राजावादीहरुले भने राजा मूर्ख हो र त्यत्तिकै नारायणहिटी जाने ? भनी प्रतिक्रियासमेत दिएका थिए । यी दुई प्रतिक्रियाबाट एकातिर सनकका भरमा राजावादीहरु सडकमा उत्रिएका थिए भने अर्कातिर प्रक्रिया पूरा गरेर दबाबपूर्ण आन्दोलनसहित पूर्वराजालाई फेरि नारायणहिटी भित्र्याएर राजसंस्था व्युँताउने भनिरहेका थिए ।

यसरी दिन चलिरहँदा अब पूर्वराजा गोारखा जाँदा के गर्छन् त राजावादीहरुले ?

या गोरखाबाट फर्किँदा फेरि एयरपोर्टबाट निर्मल निवासको यात्रा यसअघिको जस्तै सशक्त हुन्छ वा राजावादीहरुसँगै राप्रपा, राप्रपा नेपाल, रास्वपाको आन्तरिक समर्थन र केही बालेन समर्थकहरुको त्यो शक्ति प्रदर्शन सकियो ? अहिलेसम्म कसैले मुख खोलेका छैनन् ।

यद्यपि पूर्वराजालाई अब निरन्तर बाहिर निस्केर जनतालाई आफू शक्ति लिन तयार रहेको सन्देश दिन सुझाव सल्लाह दिइरहेको बुझ्न सकिन्छ । पूर्वराजालाई ल्याउन दबाब दिन नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समिति नै बनिसकेको छ ।

संसदमा दैनिक राजसंस्था र गणतन्त्रको बहस

सडकमा सबै पक्ष बोलिरहे पनि संसदमा भने राप्रपा राजसंस्थाको बारेमा बोलिरहेको छ । उसले गणतन्त्रका नाममा शीर्ष तीन तीन दलहरुले मुलुकलाई भ्रष्टाचारको दलदलमा धकेलिरहेको बताइरहेका छन् । त्यसबाहेक राजसंस्था फर्काउनु पर्ने तर्क राप्रपाले केही दिएको छैन । यद्यपि पहिलेदेखि नै जनमत संग्रह गर्नुपर्ने माग गरिरहेको छ ।

तर नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भने आक्रामक रुपमा राजसंस्थाको विरोध गरेका छन् भने गणतन्त्र बचाउन एकीकृत हुन आह्वान गरिरहेका छन् । बुधबारको संसद बैठकमासमेत नेपाली कांग्रेसका सांसद एवं पूर्व उपसभापति विमलेन्द्र निधीले नेपालमा अब राजसंस्था फर्कने कल्पना गर्न नसकिने बताएका छन् ।

उनले नेपालमा अन्य कुनै शक्तिले अर्को तन्त्र स्थापना गरिदिन नसक्ने भन्दै जसरी संविधान जारी गरिएको थियो त्यसरी नै गणतन्त्रको रक्षा पनि गर्न सक्ने उनले बताए । उनले यति भन्दै गर्दा गणतन्त्र ल्याउन सहयोग गर्ने पूर्वराजा शाहलाई धन्यवाद दिँदै त्यो सम्मान कायम रहेकाले सोही अनुसार आफ्नो मान जोगाएर बस्न आग्रह गरेका छन् ।