प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २४७ रनको बलियो लक्ष्य दिएको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन बनायो । मधेशका लागि ओपनर रोहन विकले सर्वाधिक ६४ रन बनाए । उनले ९८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हरिशंकर शाह ५१ रनको अर्धशतकीय पारी खेले । पवन सरार्फले ३३, विशाल पटेलले १२ रन बनाउँदा रुपेश सिंहले ५१ रनको अविजित अर्धशतकीय पारी खेले । उनीसँगै सनी शाह १५ रनमा अविजित रहे । गण्डकीका लागि बलिङतर्फ कप्तान विपिन खत्री र कमल परियारले समान २–२ विकेट लिए । अमृत गुरुङ र सन्दीप पराजुलीले १–१ विकेट लिए । गण्डकीको यो संस्करणको प्रधानमन्त्री कपको यो अन्तिम खेल हो । मधेशको भने यो सातौं खेल हो । मधेशले अझै २ खेल खेल्न बाँकी छ । गण्डकीले यो संस्करणको पीएम कपमा ८ खेल खेलिसक्दा जम्मा १ मात्र जित हात पारेको छ ।
संवाददाता










