रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका-३ स्थित दह गाउँ । विवाहको कार्यक्रम धुमधामसाथ चलिरहेको थियो । एकातिर दुलहा-दुलहीलाई टिकाटालो लगाउने अनि आशीर्वाद दिनेको लाइन । अर्कातिर नाचगानको उल्लास । सिंगारु भाकामा कम्मर मर्काइरहेका नचारुलाई नचाउन गाउनेहरुको जोसजाँगरमा कुनै कमी थिएन ।

यही गीतको लाइन काफी छ, रुकुम पश्चिममा अमेरिका मोह कति छ भनेर बुझ्न । किनकि रुकुम पूर्व र रुकुम पश्चिममा सायदै कुनै यस्तो गाउँ होला, जहाँका तन्नेरी लाखौं रुपैयाँ बुझाएर अवैध बाटोमा अमेरिका छिरेका नहुन् । संगठित मानव तस्करका अनेक दलाललाई किस्ता किस्तामा पैसा बुझाएर अमेरिका हिँडेका हुन् वा दर्जनौं देशको सीमा अवैध रुपमा छिचोलेर छिरेका । अमेरिका छिरेर अध्यागमन हिरासतमा बसेका, बीच बाटोबाटै फर्काइएका वा अमेरिका छिरेर पनि डिपोर्ट भएकाहरुको कथाका अनेक किस्सा प्रत्येक गाउँमा सुन्न पाइन्छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिका रुपमा निर्वाचित भएपछि उनले गैरकानुनी आप्रवासीका सम्बन्धमा कडा नीति अख्तियार गरेपछि त्यसको सोझो प्रभाव रुकुम पूर्व र पश्चिमका गाउँगाउँसम्म देखिएको छ । पछिल्लो अमेरिकी नीतिका कारण लाखौं रकम खर्चेर अमेरिका हिँडेका वा पुगेकाहरु डिपोर्टमा पो परिहाल्छन् कि भन्ने चिन्ता उनीहरुको छ ।

बाँफिकोट–३ का जगत बोहरा (परिवर्तित नाम) ले आफ्ना १ छोरा र दुई २ छोरीमध्ये ३१ वर्षकी ठूली छोरी चार वर्षअघि र झन्डै एक वर्षको प्रयासपश्चात् १८ वर्षको छोरा एक महिनाअघि अमेरिका पुगेको बताए । २५ वर्षीया कान्छी छोरी पनि ९ महिनाको प्रयासपछि ५ महिनाअघि अमेरिका पुगेर जेलमा परेको उनले बताए । ‘ठूली छोरी अमेरिका पुगेर कमाउन थालेपछि बाँकी छोराछोरीले पनि उता जान कर गरे अनि सबै त भइरहेकै छन्, जाऊन् न त भनेर पठाएँ,’ उनले भने, ‘अहिले ४१ दिन जेल बसेर निस्केको छोरो र पुगेर जेलमा परेकी छोरीको अवस्था केकसो हुने हो भन्ने डर छ । सबैतिर अमेरिकाले फर्काउँछ भन्छन्, त्यस्तो भयो भने त हामीलाई मर्नु न बाँच्नु हुन्छ ।’Parents in panic due to illegal travel to America: ‘Children with no money in hand’सुरुमा ठूली छोरी पठाउँदा ३१ लाख रुपैयाँ खर्च भएको र पछिल्लोपल्ट दुई सन्तान पठाउन थप ७५/७५ लाख दलाललाई बुझाएको उनी बताउँछन् । यसभन्दा अघि एकजना दलालले छोरालाई अमेरिका पठाउँछु भनेर ५० लाख रुपैयाँ लिएको तर उक्त पैसा खाएर सम्पर्कविहीन भएको समेत उनले सुनाए । ‘अहिले मेरो थाप्लोमा झन्डै २ करोड ऋण छ । म त पागलजस्तो भएको छु । झन् अमेरिकाले फर्काउँछ भन्ने सुनेदेखि होस ठेगानमा छैन,’ उनी आफ्नै सुरमा बर्बराए ।

केही रकम ठूली छोरीले व्यवस्था गरे पनि त्यो पनि ऋण नै भएको र २ करोडको ब्याजले बढेर ३ करोड नाघिसकेको उनको भनाइ छ । ‘छोराछोरीले अमेरिका पुगेर काम पाएर कमाउन थाले पनि यो करोडौं तिर्न त दसौं वर्ष लाग्ने देखियो,’ निकै निराश हुँदै उनी सुनाउँछन्, ‘एकातिर छोराछोरी साथमा छैनन्, अर्कोतिर ऋणको भार छ । अमेरिकाको चक्करमा परेर हामी नराम्ररी डुब्यौं । न सन्तान साथमा, न पैसा हातमा ।’

यो जगतको प्रतिनिधि कथा हो । रकम ठूलो-सानो होला तर अमेरिकाको चक्करका रहेका धेरैको एकै प्रकारको व्यथा छ ।

बाँफिकोट–३ कै सुरबहादुर ओली (परिवर्तित नाम) ले आफ्नी २० वर्षकी छोरीलाई ७५ लाख रुपैयाँ दलाललाई बुझाएर अमेरिका पठाएको बताउँछन् । छोरी झन्डै १३ महिनाअघि घरबाट निस्केको र तीन महिनादेखि मेक्सिकोमा अलपत्र परेको उनले दुखेसो गरे ।

‘२ देखि ३ प्रतिशत ब्याजमा ऋण कारेर अमेरिका पठाएँ । आजभोलि गर्दागर्दै वर्ष बित्यो तर छोरी अमेरिका नै पुगेकी छैन,’ उनले भने ‘दलालले मेक्सिको पुर्‍याएको खबर आएको छ । तर अमेरिका छिर्न नै धेरै कडा गरेको छ भन्ने सुन्छौं । बर्बाद भयो ।’Parents in panic due to illegal travel to America: ‘Children with no money in hand’छोरीसँग रहेको फोनसमेत दलालले खोसेर लिएकाले अरुकै फोनबाट एक साताअघि छोटो कुरा भएको ओलीको भनाइ छ । ‘दलालले पूरा पैसा लियो तर अमेरिकामा चुनाव छ भनेर अघि नै बढाइदिएन । अहिले त उता (अमेरिकामा) कडाइ गरेको छ रे, त्यहीँ (मेक्सिको) बाटै फर्काउने हो कि भन्ने डर छ,’ डरमिश्रित भावमा उनी निराशा व्यक्त गर्छन्, ‘छरछिमेकको लहैलहैमा लागेर आँटेको कामले आफैलाई दुःख दियो ।’

तस्करले अमेरिका पुग्न खोज्नेहरूलाई १३ देशको कठिन रुट पार गराउने गरेका छन् । नेपालबाट भारत अथवा दुबईसम्म लैजाने र त्यहाँबाट एजेन्टमार्फत रुस, स्पेन, बोलिभिया, पेरु, इक्वेडर र कोलम्बिया हुँदै पानामा पुर्‍याउने गरेका छन् ।

कुरैकुरामा छोरीलाई अमेरिका पठाइदिन्छु भनेर यसअघि अर्को एक दलाललाई ५० लाख बुझाएको तर छोरी अमेरिका पठाउन नसकेको ओलीले सुनाए । ‘प्लेन टु प्लेन अमेरिका पठाइदिन्छु भनेर ५० लाख बुझाएँ तर अमेरिका पठाउने त परको कुरा, त्यो पैसा नै फस्यो,’ उनी भन्छन्, ‘आफ्नै मान्छेमार्फत दलालसँग सम्पर्क भएको थियो । दलाल नै सम्पर्कविहीन भएपछि के गर्ने, कसो गर्ने भन्ने अवस्थामा छु ।’ यस्तै दुःख झेलिरहेका छन् रुकुम पूर्व सिस्ने–३ पोखराका दलवीर खत्री (परिवर्तित नाम) पनि । अमेरिका जान भनेर घरबाट निस्केको आफ्नो छोरा साढे दुई वर्षपछि बल्ल अमेरिका पुगेर त्यहाँको जेलमा परेको बताए । ‘करिब ८० लाख रुपैयाँ खर्च भयो अहिलेसम्म । एक महिनाअघि टेक्सास जेलमा परेको भन्ने खबर आएको छ,’ छोराबारे उनी बताउँछन्, ‘अब त जेलबाट निस्केर काममा लाग्ला कि भन्ने आस थियो, मान्छेहरु फर्काउँछ पो भन्न थाले । साहुहरु पैसा माग्न आइरन्छन्, आफूसँग सुक्को छैन । अब के होला भन्ने डर मात्रै छ ।’

पोखराकै रमिता खड्का (परिवर्तित नाम) की २४ वर्षीया कान्छी छोरी १५ दिनअघि मेक्सिको पुगेकी छन् । सुरुमा दलालले ३० लाख रुपैयाँ खाइदिएपछि फेरि अर्को दलालमार्फत ७० लाख बुझाएर पछिल्लो प्रयास गरेको उनले बताइन् । करोडको ऋण दोब्बर हुन लाग्दा पनि अमेरिका सपना पूरा नभएको र फेरि फर्किने डरले उनलाई थिचेको छ ।

सन्तान र आफन्तहरु अमेरिका पठाउनेहरु त्यहाँको पछिल्लो सरकारी आदेशका कारण खुलेर कुरा गर्न चाहँदैनन् । गरिहाले पनि आफ्नो परिचय खुलाउँदैनन् । उनीहरुको ध्यान कसरी सन्ततिको लक्ष्य (अमेरिकामा कमाउन थाल्ने) पूरा गर्ने र फसेको पैसा उठाउने भन्ने छ ।

रुकुम पश्चिमबाट के कति संख्यामा अमेरिका पुगेका छन् र उनीहरुको अवस्था के छ भनेर कुनै तथ्यांक आफूहरुसँग नभएको जिल्ला समन्वय समितिका उपप्रमुख दीपेन्द्र विक बताउँछन् ।

बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरले पनि पालिकाभित्रका प्रायः घरका युवा कोही न कोही अमेरिका पुगेको, बाटोमा गइरहेको वा फर्केर आएको बताए । तर यसको एकिन तथ्यांक भने आफूहरुसँग नभएको उनी बताउँछन् । ‘यहाँ अमेरिकाप्रतिको आकर्षण निकै धेरै छ । एकै घरबाट ३-४ जना पनि गएका छन् । ठ्याक्कै यति जना गएका छन् र अवस्था यो छ भनेर भन्ने स्थिति छैन ।’

अमेरिकामा रहेका आफ्ना नागरिक फर्किएमा के गर्ने भनेर यहाँका स्थानीय सरकारसँग कुनै योजना पनि देखिँदैन । उनीहरु ‘यो हाम्रो वशको विषय होइन’ भन्न थालेका छन् । Parents in panic due to illegal travel to America: ‘Children with no money in hand’

उता रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले आफ्नो पालिकाबाट मात्रै झन्डै ६ सयजना अमेरिकामा रहेको र २ सय जना बाटोमा गइरहेको अनुमान गरे । ‘उनीहरुको सुरक्षाका विषयमा संघीय सरकारले नै पहिला सोच्नुपर्छ । हामी सिधै अमेरिकासँग कुरा गर्न सक्दैनौं,’ ती नागरिकलाई फर्काएमा के गर्ने ? भन्ने प्रश्नमा उनी थप्छन्, ‘सामान्य सीपमूलक तालिम र ज्यालादारीवाला काम त हामी दिन सक्छौं । तर करोडको सपना देखेर हिँडेका अनि दसौं लाख ऋण भएकालाई यताको सानोतिनो काम भाउपत्ता नलाग्ने रहेछ ।’

अमेरिकाको पछिल्लो नीतिअनुसार फर्काइएकाहरुमा रुकुमका पनि छन् । तर को हुन् भन्ने बारे भने खुलेको छैन । यसअघि पनि विभिन्न कारण अमेरिकाबाटै फर्काइनेहरुको संख्या पनि ठूलो छ । अब यो संख्या थप बढ्ने देखिएको छ । किनभने अवैध तरिकाले अमेरिका गएकाहरुमध्ये धेरैजसो गैरकानुनी ढंगले नै अमेरिकामा लुकिछिपी काम गरिरहेका छन् ।

सन्तानलाई अमेरिकातर्फ पठाएका अभिभावकहरु भने उनीहरुलाई फर्काउने पीरमा छन् । अमेरिकामा रहेकाहरु पनि डराइडराइ काममा गइरहेको बताउँछन् । ‘यता आएको ६ महिनाजति भयो । ट्रम्प सरकारले हामीलाई अवैध करार गरेर फर्काउने भय छ । यसकारण नयाँ सरकार आएपछि त हामी केही दिन लुकेरै बस्यौं,’ उनले भने, ‘बिस्तारै काममा त जान थालेका छौं तर डर यति छ कि पूरै मुटु ढुकढुक हुन्छ । त्यत्रो ऋण तिर्नुछ । कमाएर घरपरिवारको सपना पूरा गर्नुछ । फर्किनुपर्‍यो भने त सबै बर्बाद हुन्छ ।’