नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।
‘इतिहासमा हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०, १५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव छैन । तर, दुस्साहस चैं भएको छ,’ उनले भने, ‘इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ । समाजवादीहरू तयार छन् ।’
उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे । पूर्वराजाको नाममा अहिले नौटंकी देखाइएको भन्दै अरुको भरमा नउचालिन उनले चेतावनी दिए ।
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको स्मरण गर्दै भने, ‘पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ ।’
‘जुन नौटंकी देखाइँदैछ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्याए ?,’ प्रचण्डले भने, ‘आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने म आफूलाई रहेको पनि उल्लेख गरे ।
संवाददाता










