काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति संसद्मा क्षमायाचना गरेका छन् । तीन दिनअघि यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति उनले आजको संसद् बैठकमा माफी मागेका हुन् । प्रतिनिधि सभाको बैठकको सुरूमै बोल्नका लागि उनले नाम टिपाएका थिए । सभामुखले समय दिएपछि घिमिरेले यसअघि दिएको अभिव्यक्ति कांग्रेस संसदीय दलको नभई आफ्नो निजी बिचार रहेको बताएका हुन् ।

यही चैत ३ गते घिमिरेले संसद्को विशेष समयमा बोल्दै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । उनको यो अभिव्यक्तिको संसद् भित्र र बाहिर व्यापक आलोचना भएको थियो । उनकै पार्टी कांग्रेसले पनि उनको आलोचना गरेको थियो । आजको संसद् बैठकको सुरुमै बोल्दै घिमिरेले यो आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिएका हुन् । साथै उनले यो अभिव्यक्तिप्रति क्षमायाचना पनि गरेका छन् ।

‘मैले व्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवम् अन्य जनसमुदायमासमेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु,’ बैठकमा घिमिरेले भने ।