काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने बताएका छन् । बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन् । ’अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,’ उनले भने ।

भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गरे । ’त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ ।

उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है,’ उनले थपे, ’बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ । कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे । उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए ।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपुर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ’हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । नेपाल विद्युत प्राधिकरण नाफामा गएको भनेर झुक्याइएको उनको दाबी छ । उनले प्राधिकरण नाफामा गएको कुरामा सत्यता नभएको पनि बताए ।