काठमाडौँ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । सो अवसरमा राजधानीमा ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीकोसमेत आयोजना गरिएको छ । सो गोष्ठीमा सहभागी नेताहरुले गिरिजाप्रसाद कोइरालाको योगदानको प्रशंसा गरेका थिए ।
कोइराला सहमति, सहकार्य र एकताका लागि जहिल्यै तयार भइरहन्थे । यसबाटै मुलुकको अस्थिरता अन्त्य गरी समृद्ध बनाउने योजना उनमा थियो । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।
विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए । कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए ।
आन्दोलन सफल भएपछि उनी पाँचौँपटक प्रधानमन्त्री बनेका थिए। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो । कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बीपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो ।
पहिलो संविधान सभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको थियो । पहिलो संविधान सभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।
पाँच पटक प्रधानन्त्री (२०४८ – २०५१, २०५४ – २०५५, २०५५ – २०५६, २०५६ – २०५८ र २०६३ – २०६५) बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यबाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र शाह निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो । बोलेको कुरा पुर्याउने राजनेताका रुपमा स्थापित कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १५ औँ स्मृति दिवस मनाउँदै छन् ।
माओवादीलाई मूलधारको राजनीतिमा ल्याएकै कारण माओवादीका सदावहार अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाबाबुलाई सम्झिरहन्छन् । तर उनको सम्झना भने स्वार्थपूर्ण रहेको उनले पटक पटक कांग्रेसलाई दिएको धोकाबाटसमेत स्पष्ट हुन्छ ।
किनकि नेपाललाई गणतन्त्रात्मक मुलुक बनाउन सफल गिरिजाबाबुलाई राष्ट्रपति बनाउन तिनै प्रचण्डले रोकेका थिए । कांग्रेससँग सहकार्य गर्दा प्रचण्डले गिरिजाबाबुकै नाम लिँदै आए पनि विपक्षको कित्तामा बस्नदा भुल्ने गर्छन् । कांग्रेसलाई फकाउँदा फेरि गिरिजा कार्ड निकाल्ने गर्छन् । गिरिजाबाबुलाई बीपी कोइरालालेसमेत कार्यकर्ता संगठन गर्न सक्षम नेताको रूपमा उदाहरण दिने गरेका थिए ।
संवाददाता










