काठमाडौं । यो साताभर सेयर बजार राताम्मे भएको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबारसम्म घट्ने क्रम कायमै रह्यो । आज नेप्से परिसूचक १२.२८ अंकले घटेर २६६९.७६ विन्दुमा अडिएको छ । आइतबार नेप्से परिसूचक २१.६४ अंकले घटेकोमा सोमबार १०.१४, मंगलबार ७.६६ र बुधबार १४.८८ अंकले घटेको थियो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि साताभर ओरालो लाग्यो। आज ३१२ स्क्रिप्सको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको सेयर कारोबार भयो । आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोड,मंगलबार ४ अर्ब र बुधबार ५ अर्ब बराबरको सेयर कारोबार भयो ।

साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज डोल्टी पावरको सेयर सर्वाधिक ७.५६ प्रतिशतले बढ्यो । दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डभलपमेन्टको सेयर १० प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर २८ करोड २१ लाख मूल्य बराबरमा खरिदबिक्री भयो । हिमालयन रिइन्स्योरेन्सको २३ करोड, सिन्धु विकास बैंक र युनाइटेड मोदी हाइड्रोपावरको १६/१६ करोड मूल्य बराबरको सेयर कारोबार भयो । घलेम्दी हाइड्रोको १३ करोडको सेयर कारोबार भयो । कारोबारमा आएकामध्ये ६२ स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो । ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन् ।