भक्तपुर बालकोटका यश गौतमले कौशलटारमा चिया पसल गर्दै आइरहेका छन् । चियालाई नै स्पेसल बनाएर बेच्ने उनले ग्राहकको मन जित्न विभिन्न चिया मसला पनि प्रयोग गर्छन् । उनले चियामा प्रयोग गर्ने मसलामा सुकुमेल, दालचिनी, कालो मरिच, ल्वाङ लगायत छन् ।
उनले आफूलाई आवश्यक पर्ने चिया मसला बालकोटकै एक थोक (होलसेल) पसलबाट लैजाने गर्छन् । ती मसलामध्ये सुकुमेलको भाउ धेरै नै महँगो भएको उनले बताए । दुई दिनअघि उनले १ किलो सुकुमेललाई ६ हजार रुपैयाँ तिरेर ल्याएको बताए ।यता, काठमाडौं बुद्धनगरका एक चिया पसल सञ्चालकले पनि केही दिनअघि अनामनगरस्थित एउटा होलसेल पसलबाट एक किलो सुकुमेल ५ हजार ५ सय रुपैयाँमा किनेर ल्याएको बताए ।
अनलाइनखबरले बुद्धनगरदेखि नयाँबानेश्वर क्षेत्रका दर्जन बढी खुद्रा पसलमा स्थलगत रिपोर्टिङ गर्दा सुकुमेल किलोको न्यूनतम ५ हजार ५ सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म बिक्री गरिएको भेटियो ।
तर, न्युरोड मखन गल्लीमा रहेका होलसेल पसलहरूमा भने सुकुमेल किलोको ४ हजार ५ सय रुपैयाँसम्ममा पाइन्छ ।
‘मसलाको रानी’ भनेर चिनिने सुकुमेल संसारमै महँगा मसलामध्ये एक हो । अहिलेको अवस्थामा यसको एक किलोको प्याकेट किन्न न्यूनतम ४ हजार ५ सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म खर्च गर्नुपर्छ । सुकमेल जतिसुकै महँगो भए पनि चियादेखि मिठाईसम्म बनाउन प्रयोग गरिन्छ ।
होलसेलमै महँगो सुकुमेलको भाउ खुद्रा पसलसम्म आइपुग्दा आकास छोइसकेको हुन्छ । होलसेल व्यापारी तथा खुद्रा व्यापारीले उपलब्ध गराएको भाउ केलाउँदा सुकुमेलमा होलसेल र खुद्रा भाउको अन्तर किलोमै अधिकतम २ हजार रुपैयाँ देखिन्छ ।
सुकुमेलको भाउ महँगो भएकै कारण होला यसका होलसेल र खुद्रा विक्रेता दुवै यसबारे खुलेर बोल्न चाहँदैनन् । मखन गल्लीका सुकुमेलका होलसेल व्यापारीमात्र नभई अन्य बजारमा खुद्रा व्यापारी समेत सुकुमेलको भाउबाहेक अन्य जानकारी दिन नचाहने अनलाइनखबरको स्थलगत रिपोर्टिङले देखायो ।
सुकुमेल किन हुन्छ महँगो ?
नेपाल खाद्य किराना व्यवसायी संघका उपाध्यक्ष टंकप्रसाद शेरचन अन्तर्राष्ट्रिय बजारका कारण नेपालमा सुकुमेल महँगो हुन गएको बताउँछन् ।
नेपालमा सुकुमेल उत्पादन नहुने हुँदा पूर्णरूपमा दोस्रो मुलुकमा भर पर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले डलरको भाउ बढेर १ सय ३८ रुपैयाँ पुगेको छ, यसमा डलर मूल्यले पनि फरक पार्छ,’ उपाध्यक्ष शेरचनले अनलाइनखबरसँग भने, ‘सुकुमेल दोस्रो मुलुकबाट आउने हो । फेरि, भन्सार पनि महँगो छ । मूल्य महँगो हुनुमा विविध कारण समावेश छन् ।’
सुकुमेल नेपालमा खासै उत्पादन हुँदैन : कृषि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थशास्त्री तथा सूचना अधिकारी महानन्द जोशी नेपालमा सुकुमेल खासै उत्पादन नहुने बताउँछन् ।
उनका अनुसार नेपालमा सुकुमेलको व्यावसायिक उत्पादन हुँदैन । ‘नेपालमा व्यावसायिक उत्पादन नै भए दुई–चार जनाले गरेका होलान्,’ जोशीले अनलाइनखबरसँग भने, ‘नभए सबै आयातित नै हो । मुलुकमै उत्पादनको ठूलो तथ्यांक छैन ।’
नेपालको आन्तरिक बजारको कुरा गर्दा मुलुकमा उत्पादन नहुने भएपछि आयातित वस्तुको मूल्य स्वाभाविक महँगो हुने सूचना अधिकारी जोशी बताउँछन् ।
‘मुलुकमा उत्पादन नहुने र विदेशबाट आयातित वस्तु भएको हुनाले सुकुमेलको मूल्य महँगो पर्न गएको हो,’ उनले भने ।
नेपालमा सुकुमेल धेरै आयात दक्षिण भारतबाट हुन्छ । सूचना अधिकारी जोशीका अनुसार दक्षिण भारतमा ‘अक्सन मार्केट’ (लिलामी बजार) नै लागेको हुन्छ । त्यहाँबाट अनलाइन अक्सन भएर यूएईको दुबई, कुवेत लगायत देशमा निर्यात हुन्छ ।
नेपालमा आयात हुने सुकुमेलको परिमाण थोरै हुन्छ । भारतबाहेक ग्वाटेमाला, मलेसिया लगायत देशबाट नेपालमा सुकुमेल आयात हुने गरेको छ ।
संवाददाता










