जिल्लाको कालिमाटी गाउँपालिकाले सात वटै वडाका समूहमा आबद्ध किसान, सहकारी र कृषि फर्म सञ्चालकलाई ५० प्रतिशत अनुदानमा २४ थान मिनी टिलर वितरण गरेको छ । खेतबारी जोत्नका लागि किसानले गोरु, राँगा पाल्न छाड्दै गएकाले खेतबारी बाँझो हुने अवस्था आउन नदिन पालिकाले मिनी टिलर वितरण गरेको हो । कृषिलाई प्रविधिसँग जोड्न पालिकाले ५० प्रतिशत अनुदानमा १५ लाख ६० हजार रकम बराबरको मिनी टिलर वितरण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । समूहमा, फर्म र सहकारीमा आबद्ध किसानले ७ लाख ८० हजार बेहोरेको उनले जानकारी गराए । मिनी टिलर समूह तथा सहकारीमा आबद्ध किसान सबैले आवश्यकताअनुसार पालैपालो प्रयोग गर्न सक्नेछन् । मिनी टिलरबाट पालिकाका सयभन्दा बढी किसान लाभान्वित हुने उनको भनाइ छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्कबहादुर वलीले किसानहरुको मागअनुसार नै मिनी टिलर वितरण गरिएको बताए । गोरुले भन्दा मिनी टिलरले जोत्न सहज मात्र नभई छिटो हुने भएकाले यसको माग बढिरहेको उनको भनाइ छ ।
संवाददाता










