काठमाडौं । समाजवादी मोर्चाले यही चैत्र १५ गते तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनको देशभर सशक्त भण्डाफोर गर्ने निर्णय गरेको छ।
सोमबार बिहान नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको मोर्चाको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापाी रुपमा भण्डाफोर र विरोध गर्ने निर्णय गरेको हो।
बैठकपछि नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीनकुने घटना योजनावद्ध तरिकाले घटाएको भन्दै यसको देशव्यापीरुपमा भण्डाफोर गर्ने निर्णय भएको जानकारी दिए।
‘राजावादीहरूले गरेको प्रदर्शन असाध्यै गैह्रजिम्मेवारी, हिंसक, आतंककारी चरित्रको छ। घटना जसरी घटेको छ,योजनावद्ध तरिकाले भएको छ, उनले भने, ‘उक्त घटनाको समाजवादी मोर्चा सशक्त भण्डाफोर गर्नुपर्छ भन्ने निष्कर्शमा पुगेको छ।’
यसैगरी बैठकले उक्त घटनामा संलग्नहरूलाई कारवाहीका लागि सरकारसँग डेलिगेसन गर्ने निर्णय गरेको जानकारी दिए। संविधानको रक्षाका लागि नेपालका सबै गणतन्त्र पक्षधरहरूसँग परामर्श र छलफल गर्ने अर्को निर्णय भएको उनको भनाइ छ। बैठकमा १५ चैतको घटनाको समीक्षा भएको उनले बताए।
घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिका लागि सरकारसँग कुरा गर्ने र सो क्षतिपूर्ति घटनामा संलग्न भएकाहरूबाट भराउन सरकारलाई आग्रह गरिने उनले बताए।
संवाददाता










