काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने भएको छ ।

भारतीय प्रधानमन्त्रीले पनि सम्मेलनमा भाग लिँदैछन् । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

‘हामीले भेटघाटका लागि भारतीय प्रधानमन्त्रीसँग समय मागेका थियौं । भारतीय प्रधानमन्त्री सम्मेलनमा सहभागी हुने कुरा तय भएपछि मोदी र ओलीबीचको भेटवार्ता पनि तय भएको हो,’ परराष्ट्र स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

बिम्स्टेकको शिखर सम्मेलनमा जाने क्रममा प्रधानमन्त्री ओलीले मंगलवारबाट थाइल्याण्डको औपचारिक भ्रमण पनि सुरु गरेका छन् । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार औपचारिक भेटवार्ता सम्पन्न भएको छ । त्यसक्रममा दुई देशका सरकार तथा निजी क्षेत्रबीच विभिन्न सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकाको न्यूयोर्कमा गत असोज ७ मा दुई देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको थियो । त्यसबेला ३० मिनेट दुई प्रधानमन्त्रीबीच कुराकानी भएको थियो ।

सो वार्ताअघि तथा पछि पनि प्रधानमन्त्री ओलीले भारतीय समकक्षीबाट भारत भ्रमणको निम्तो कुरिरहेका छन् । तर, हालसम्म भारतले भ्रमण तय गरेको छैन ।

प्रधानमन्त्री ओलीले भने न्यूयोर्कमै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसबेला मोदीले चाँडै नेपाल भ्रमण गर्ने बताए पनि उनको भ्रमण पनि तय हुन सकेको छैन । नेपालले आगामी जेठमा काठमाडौंमा गर्न लागेको सगरमाथा संवादमा भाग लिन पनि मोदीलाई निम्ता पठाएको छ ।