काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आजदेखि काठमाडौँमा सुरु हुँदैछ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन आप्सा नेपालद्वारा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ ।
सम्मेलनको उद्घाटन आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू तथा आगलागी र विद्युतीय सुरक्षाका विज्ञहरूको उपस्थिति रहनेछ ।
कार्यक्रममा चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलङ्का, भियतनाम, हङकङ, इन्डोनेसिया, मकाउ, फिलिपिन्सलगायत १४ देशका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । सहभागीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र उत्कृष्ट अभ्यासहरूको जानकारी दिन विविध सत्र, प्रविधि प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार नेपालमा प्रत्येक वर्ष आगलागीबाट ठूलो जनधनको क्षति हुँदै आएको सन्दर्भमा यस्ता सम्मेलनहरू अत्यावश्यक छन्। उनले प्रविधिमैत्री समाधान र समुदायस्तरमा सचेतनाको अभाव हटाउन सम्मेलनले सशक्त सन्देश दिने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रम निर्देशक सुरेश श्रेष्ठले यो सम्मेलन सुरक्षासम्बन्धी नीतिमा सुधार ल्याउन र नीति निर्माता, सुरक्षा निकाय, विज्ञ तथा निजी क्षेत्रबीच सहकार्यको नयाँ सम्भावना खोल्न महत्वपूर्ण हुने बताए । नेपालको सुरक्षा प्रविधि विकास, आगलागी न्यूनीकरण रणनीति तथा विद्युतीय सुरक्षालाई सुदृढ बनाउने लक्ष्यसहित आज सुरु हुन लागेको यो सम्मेलनबाट दीर्घकालीन प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
संवाददाता










