काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै बल्खुमा प्रदर्शन गर्दैछ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमति मागे पनि शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूको जारी प्रदर्शनका कारण उसलाई बल्खुको स्थान तोकिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । सभा सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालिने छ । बल्खुको सभामा मात्रै २ हजार भन्दा धेरै प्रहरी परिचालन गर्ने तयारी भएको छ । साथै बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने पनि बताइएको छ ।
यतिमात्र होइन, प्रदर्शनस्थलको सुरक्षाको लागी काठमाडौं उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइएको छ । यसअघि गत चैत १५ गते तीनकुने क्षेत्रका भएको विध्वंसात्मक घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको हो । प्रहरीको सुरक्षा रणनीति फितलो बन्दा दुर्गा प्रसाईंकाे नेतृत्वमा संयुक्त जनआन्दोन समितिले गरेको उक्त आन्दोल शान्तिपूर्ण गर्ने भनिएपनि हिसांत्मक बनेपछि जनधनको समेत क्षति भएको थियो ।
हिसांत्मक प्रदर्शनको विरोधी राप्रपाले मंगलवार प्रदर्शन तथा सभालाई भव्य, सभ्य र शान्तिपूर्ण बनाउने तयारी गरेको छ तर भनिएअनुसार नै होला प्रदर्शन ? भन्ने विषय निकै चासोका साथ हेरिएको छ । किनभने गत चैत १५ गतेको आन्दोलनलाई नेतृत्व गरेको संयुक्त जनआन्दोलन समितिले पनि समर्थन गरेको छ । यस्तै शिक्षक, सहकारी तथा लघुवित्त पीडित र आवासिय चिकित्सकहरूले पनि प्रदर्शन गर्दैछन् । त्यसकारण पनि सुरक्षा व्यवस्था कडा पारिएकाे हाे ।
यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको हाे, जसमा जसअनुसार डाइभर्सन गरिने स्थानहरुमा खसिबजार – मकालु – कलङ्की चोक– बाफल, बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु, कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना, आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू, त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला र चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर क्षेत्र परेका छन् ।
प्रहरीले विभिन्न विरोधका कार्यक्रमहरुका सहभागी हुने व्यक्तिहरुका लागि सवारी साधन पार्किङ स्थल पनि तोकेको छ । जसअनुसार टियू गेट देखी चोभार सडक, सानेपा करिडोर सडक (दुबै तर्फ), चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला – बाफल सडक खण्डमा एक लाइन भएको क्षेत्र तोकिएको छ । यस्तै, नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
संवाददाता










