काठमाडौं । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि विशेषगरी, आँखा र श्वासप्रश्वासमा बढी प्रभाव पार्ने चिकित्सक बताउछन् । वायु प्रदूषण बढेसँगै आँखा पोल्न, आँखा रातो हुने, चिलाउने जस्ता समस्या बढ्दो क्रममा छ । यस्तो समस्या बिहानभन्दा दिउँसो र बेलुकाको समयमा बढी देखिन्छ ।
रोड साइडमा काम गर्ने, पसलमा बस्ने वा धेरै धुलोको एक्स्पोज हुने मानिसमा यस्तो समस्याबाट बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् । नेपाल आँखा अस्पतालका आँखारोग विशेषज्ञ डा.इन्दुप्रसाद ढुङ्गेलले वायु प्रदूषण बढेसँगै आँखामा समस्या लिएर आउने बिरामी सङ्ख्या बढ्दै गएको बताउँछन् ।
उनका अनुसार अस्पतालमा सात सय बिरामीले बहिरङ्ग विभागमा सेवा लिने गर्छन् जसमध्ये १५ देखि २० प्रतिशत बिरामी प्रदूषणको कारणले आँखामा समस्या देखिने पुग्ने गरेका छन् ।
वायु प्रदूषणको कारण आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, आँखा रातो हुने, चिलाउने दुख्ने जस्ता समस्या लिएर बिरामी अस्पताल पुग्ने गरेको उहाँको भनाइ छ । उनका अनुसार यस्तो समस्या अन्य समयको तुलनमा चैत, वैशाखमा बढी देखिने गर्छ । यो मौसममा फुल फुल्ने हुँदा फुलको कणले एलर्जी हुने बिरामी बढ्ने गर्छन् । एलर्जी हुने बिरामीलाई प्रदूषण झन जटिल समस्या निम्त्याउने बताउँछन् ।
डा. ढुङ्गेलले वायु प्रदूषणमा कार्बन मोनोक्साइड, नाइट्रेस अक्साइड हुने हुँदा आँखामा सामान्यदेखि जटिल समस्या निम्त्याउने बताउँछन् । प्रदूषणका कारण आँखाबाट आँसु बग्ने, आँखा पोल्ने, आँखा रातो हुने चिलाउने, दुख्ने र आँखाको डिल सुनिने जस्ता तत्कालीन समस्या देखिने उनको भनाइ छ ।
उनी भन्छन्, “बसन्त रितुमा अन्य समयको तुलनामा आँखामा एलर्जी हुने गर्छ । वायु प्रदूषणले एलर्जी बढेर झन जटिल समस्या निम्त्याउने गर्छ ।” यदि प्रदूषण लामो समयसम्म रहि रहेमा आँखाको लेन्स बिग्रिनुका साथै मोतिबिन्दु वा जलबिन्दु हुने, एलर्जी हुने रेटिना बिग्रने जस्ता दीर्घकालीन समस्या निम्तने डा।ढुङ्गेलले जानकारी दिए।
आँखा कसरी बचाउने
आँखा पोल्ने, सुनिने, आँसु आउने जस्ता समस्या देखिएमा नआत्तिन उनको सुझाव छ । यस्तो लक्षण देखिएमा आँखा नमिच्न उनको सुझाव छ । यस्तो समस्या देखिएमा सफा पानीले आँखा सफा गर्न, क्रृतिम आँसु प्रयोग गर्न उनको सुझाव छ ।
आँखा सफा गर्दा फोहोरमैला, एलर्जिक कम्पोनेन्टबाट बचाउन सकिने उहाँको भनाइ छ । सङ्क्रमण वा एलर्जी भएमा चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्न डा।ढुङ्गेलकोे सुझाव छ । प्रदूषणबाट आँखा बचाउन घरबाहिर निस्कदा अनिवार्य पूरै आँखा छोप्ने गरेर चस्मा वा सनग्लासको प्रयोग गर्न उनको आग्रह छ । आँखामा चस्मा लगाएमा केही हदसम्म प्रदूषणबाट बचाउन सकिने उनको भनाइ छ ।
प्रदूषणको समयमा मोबाइल, कम्प्युटरलगायतका विद्युतिय उपकरणको प्रयोग गर्दा झन जटिल समस्या निम्तने हुँदा यस्ता उपकरणको अनावश्यक रुपमा प्रयोग नगर्न डा.ढुङ्गेलको सुझाव छ । प्रदूषणको बेला कन्ट्याक्ट लेन्सको प्रयोग गर्दा आँखा थप सुख्खा हुने हुँदा लेन्सको प्रयोग नगर्न चिकित्सकको सुझाव छ । लेन्सले आँखा सुख्खा हुने र घाँउ हुनसक्ने जोखिम बढ्ने गर्छ । यदि आँखा सुख्खा भएमा चिकित्सकको सल्लाहमा नक्कली आँसु प्रयोग गर्न उनको आग्रह छ ।
आँखा रातो भइराखेमा, आँखा हेर्न गाह्रो भएमा, दृष्टिनै कम भएको महशुस भएमा तुरुन्त आँखा रोग विशेषज्ञसँग परामर्श लिन उहाँको सुझाव छ । आँखाको नानीमा समस्या भएमा सम्बन्धित चिकित्सकलाई देखाएर उपचार गर्न उनको अनुरोध छ ।
सुख्खा पनको समस्या भएमा सुरुवाती चरणमा औषधीबाट निको बनाउन सकिन्छ । यदि लामो समयसम्म उपचार गरिएन भने आँखामा जालो पर्ने र दृष्टिनै गुम्ने चिकित्सक बताउँछन् ।
संवाददाता










