काठमाडौं । काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल भित्र्याइसकिएको छ । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट आज शुक्रबार नेपाल भित्र्याइएको हो । अब उनलाई भद्रपुर विमानस्थलबाट बिहान १०ः४५ बजेको फ्लाइटमा काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरी स्रोतले नेपालखबरलाई जानकारी दिएको छ ।

राजसंस्था पुनस्स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए भने तोडफोड, आगजनी र लुटपाटबाट करोडौँ मूल्यको क्षति भएको थियो ।

प्रसाईं त्यस समितिअन्तर्गतका जनकमान्डर हुन् । तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए । त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ७३ भन्दा बढी आरोपितलाई पक्राउ गरिसकेको छ।

प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो । फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए । प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो ।

विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियो । प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर उनी गुपचुप बसेका थिए । तर बुधबार उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए ।

यसरी भागेका थिए प्रसाईं​
काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको सूचना प्रहरीले घटनाको केही दिनमै पाइसकेको थियो । प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंकै झापास्थित मेडिकल कलेज बीएन्डसीमा फेला पारेको थियो ।

बागमती प्रदेशको बी ए बी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ । काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न उक्साएर प्रसाईं एउटा घरको सटरभित्र लुकेका थिए । त्यतिबेला तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो। प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरिरहेको थियो ।

उनको कमान्डमा उत्रिएका समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए । स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेका थिए ।

सोही गाडीमा उनीसहित ६ जना काठमाडौँबाट बीपी राजमार्ग हुँदै काकडभिट्टा नाकासम्म पुगेको सूचना प्रहरीले पाएको थियो । बीएन्डसीमा फेला परेको गाडी र त्यसका चालकलाई प्रहरीले गत साता नै नियन्त्रणमा लिएर काठमाडौँ ल्याइसकेको छ । तर प्रसाईं भने आफ्ना केही सहयोगीसहित भारतमै रहेका थिए ।

काठमाडौँबाट काकडभिट्टासम्म जाँदा प्रसाईं चालकभन्दा पछाडिको सिटमा बसेर गएका थिए । काकडभिट्टाबाट आफ्नो गाडी बीएन्डसीमा फर्काएर उनी अर्को गाडीमा भारत गएको पुष्टि भएको छ । प्रसाईंको खोजी गर्दै यसअघि दुईजना प्रहरी झापास्थित प्रसाईंको घरमा पनि पुगेका थिए । प्रसाईं बीपी राजमार्ग हुँदै भारततर्फ लाग्नु पहिले इमाडोलस्थित खतिवडाको घरमा पुगेका थिए ।

त्यहाँ फलफूल र चिया खाएपछि प्रसाईंले धवल शमशेरलाई अन्तिम कल गरेर मोबाइल बन्द गरेका थिए । प्रसाईं भागेपछि तीनकुनेका प्रदर्शनकारीको नेतृत्व राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेरले गरेका थिए ।