काठमाडौं । सरकारले राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्नेबारे परामर्श गरेको छ ।

तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँ पक्राउ परिसकेको सन्दर्भमा कांग्रेस र एमालेको शीर्ष नेतृत्व पनि राणा र मिश्रलाई रिहा गर्ने पक्षमा देखिएपछि गृह मन्त्रालयले सोही अनुसार छलफल गरेको हो ।

गृहमन्त्री रमेश लेखकले शनिबार साँझै प्रहरी प्रमुखसहित रानीपोखरी र परिसरकार उच्च प्रहरी अधिकारीहरुलाई छलफलका लागि बोलाएका थिए । तर, त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएका कारण स्थगित भएको एक उच्च अधिकारीले बताए ।

सभापति देउवा राप्रपाका नेताद्वयलाई प्रक्रिया मिलाएर रिहा गर्ने पक्षमा छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा गरिसकेकाले नै इन्कारी बयान गराएर हाजिरी जमानीमा रिहा गर्ने संकेत आएको ती अधिकारीले नेपाल प्रेसलाई बताए ।

चैत १५ गते साँझ पक्राउ परेका राणा र मिश्रसँग प्रहरीले अहिलेसम्म बयान लिएको छैन । उनीहरूलाई म्याद थप गर्दै राखिएको छ । उच्च राजनीतिक नेतृत्वबाट कस्तो आदेश आउँछ सोही अनुसार बयान हुने भएकाले पनि प्रहरीले माथिको संकेत पर्खेको छ ।

राणा प्रतिनिधिसभा सदस्य समेत रहेका र परराष्ट्र मन्त्री आरजु राणाका पारिवारिक नातेदार समेत रहेकाले दोहोरो दबाब परेको बताइन्छ । प्रधानमन्त्रीलाई धवल शमसेरकी पत्नीले अंग्रेजीमा लामो पत्र लेखेर पतिको रिहाइको लागि आग्रह गरेको बताइन्छ । उनी ग्वालियरकी राजकुमारीसमेत भएकाले धवलको लागि बाह्य आग्रहसमेत बढेको छ ।

पशुपति शसमेरको ससुराली र धवलको ससुराली एकै दरबार अर्थात मध्यप्रदेशको ग्वालियर हो । ग्वालियरकै राजकुरमा ज्योतिरादित्य सिन्धिया अहिले नरेन्द्र मोदी सरकारको मन्त्री छन् ।