काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले राम्रो पर्फर्मेन्स दिन नसकेको फेरि एकपटक टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ, गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन ।
ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् ।’ साथै उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको पनि दाबी गरे। ‘नेतामा समस्या छ। नेताको शैलीमा समस्या छ। उनीहरुलाई बदल्नुपर्छ। हामीले व्यवस्था बदल्ने होइन, नेता बदल्ने हो तब समस्या हल हुन्छ।’ उनले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारमा कांग्रेस पनि सहभागी छ । अझ भनौं, कांग्रेसकै बलमा ओली सरकार बनेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा केहीसमय पछि प्रधानमन्त्री बन्ने पर्खाइमा छन् । तर, यता महामन्त्री थापाले भने निरन्तर सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन् ।
उनले गत बुधबार रुपन्देहीको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई डुल्न घुम्न छाडेर काम गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्री अहिले डुलेको देख्छु । मन्त्रीहरु घुमेको देख्छु । तपाईंहरु डुल्ने घुम्ने काम छोडिदिनुस्,’ उनले भनेका थिए, ‘तपाईंहरुले काम गर्नुस् । त्यो कामको प्रचार गर्न काम त हामी गरिहाल्छौं नी। हामी डुल्छौं, हामी घुम्छौँ । देशभरका साथीहरुलाई गएर भन्छौँ ।’
संवाददाता










