काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधेको स्पष्टीकरणको जवाफ दिन ऊर्जासचिव सुरेश आचार्यले अस्वीकार गरेका छन् । राज्यमन्त्री तामाङले गत चैत २८ गते सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। तर वैशाख ४ गतेसम्म उनले स्पष्टीकरण बुझाएका छैनन् ।

जलस्रोत तथा सिँचाइ विभागले चैत २५ गते सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सवको कार्यक्रम गरेको थियो  त्यसमा राज्यमन्त्री तामाङ प्रमुख अतिथिको भूमिकामा थिए । विभागको सभाहलमा प्रवेशको क्रममा कार्यक्रम सञ्चालकले उद्घाटन समारोहको क्रममा आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरी बाहिरिएको भन्दै स्पष्टीकरण सोधेका थिए ।

राज्यमन्त्री तामाङले शुक्रबारसम्म सचिवले स्पष्टीकरण नदिएको बताए। ‘आजसम्म (शुक्रबार) सचिवले स्पष्टीकरण दिएको छैन’, मन्त्री तामाङले भने, ‘आइतबार फेरि स्पष्टीकरण सोध्छु । नदिए अदालतमा मंगलबार मुद्दा हाल्ने तयारी गरेको छु ।’ उनले ऊर्जासचिवबाट हटाउने नहटाउने सरकारको विषय भएकाले आफूले गर्नसक्ने विषयबाट पछाडि नहट्ने बताए ।

सचिव आचार्यलाई आसनग्रहणको लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगरेको मन्त्री तामाङको आरोप छ ।