काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा स्थगित भएको भ्रामक सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै त्यस्तो सूचनाको विश्वास नगर्न आग्रह गरेको हो ।
बोर्डद्वारा यही २०८२ साल वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको भन्दै बोर्डले ध्यानाकर्षण गराएको छ ।
परीक्षासम्बन्धी आधिकारिक सूचना पोईले आफ्नो एप मार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न सरोकारवालामा बोर्डले अनुरोध गरेको छ ।
बोर्डले एक सूचना जारी गरी परीक्षा जस्तो सम्बेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यानको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्बाहीका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
बोर्डको आधिकारिक वेभसाइट बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन विद्यार्थीहरूमा अनुरोध गरेको छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकहरूमा बोर्डले अपिल गरेको छ ।
संवाददाता










