काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सोमबार महिला राष्ट्रिय टिमका लागि प्रशिक्षकको आवेदन खुलाएको छ । एन्फाले सोमबार अन्नपूर्ण पोष्टमा एक आवेदन प्रकाशन गर्दै प्रमुख प्रशिक्षकको आवेदन खुलाएको हो ।
नेपाली महिला राष्ट्रिय टिमको प्रशिक्षकसँग प्रो लाइसन्ससँगै यसअघि कम्तीमा २ वर्ष सिनियर तथा उमेर समूहको प्रशिक्षण सम्हालेको हुनुपर्ने खुलाइएको छ । एन्फाले एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो ।
एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेलमै लाओस प्रतिद्वन्द्वी पाएको छ । यी दुईबीचको खेल २९ जुनमा हुनेछ । नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन् । यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन् ।
प्रशिक्षकको आवेदनसँगै एन्फाले एक पर्फमेन्स एनालिष्ट(प्रदर्शन विश्लेषक)को पनि आवेदन खुलाएको छ । एन्फाले यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ । यसमा भने कम्तीमा एक वर्षको अनुभव अनिवार्य हुनुपर्ने खुलाएको छ ।
संवाददाता










