काठमाडौं । सर्वोच्च अदालतले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरुलाई विद्यालयमा फर्काई नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता श्रवणकुमार चौधरीलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिश डा. नहकुल सुवेदीको एकल इजलासले बालबालिकालाई नियमत रुपमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न अन्तरिम आदेश दिएको हो ।
आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू, आदेशमा भनिएको छ ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्ड परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको औंल्याउँदै परीक्षा नसार्न र तोकिएकै समयमा गर्न भनेको छ ।
संवाददाता










