केसी कार्यसमितिको असहमतिका बाबजुद एनआरएनएको एकता महाधिवेशन शनिबार गर्ने तयारी
काठमाडौं । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको उद्घाटन शनिबार हुने भएको छ । डा. बद्री केसी नेतृत्वको कार्यसमितिको असहमतिका बाबजुद घले नेतृत्वको समितिले महाधिवेशन गर्न लागेको हो । महाधिवेशन शनिबारदेखि सोमबार (२०२२ वैशाखमा) राजधानीको हायात होटलमा हुने घलेको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालय र केसी नेतृत्वको कार्यसमितिले महाधिवेशन रोक्न माग गरी दिएका निवेदनहरूमा सर्वोच्चले कुनै निर्णय दिइसकेको छैन । उक्त निवेदनमा भएको प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको भए पनि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेकाले सर्वोच्चले स्पष्ट आदेश दिन नसकेको हो ।
शुक्रबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी चढेको भए पनि हेर्न नमिल्नेमा परेको थियो । संघको ११ औँ महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्यसमितिले आफूलाई सर्वोच्च अदालतले नै वैधता प्रदान गरेकाले महाधिवेशन पनि आफैँले गर्न पाउनुपर्ने माग गरेको छ । यस कार्यसमितिलाई वैधता दिने गरी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले गत साउन २१ गते आदेश जारी गरेको थियो। विगतका कुनै महाधिवेशन अवैध थिए भन्ने आधारमा नयाँ महाधिवेशन पनि अवैध मान्न नमिल्ने उक्त इजलासको ठहर थियो । संस्थाको सर्वोच्च र सार्वभौम निकाय मानिने भएकाले एउटा महाधिवेशन वा कार्यसमितिको मातहत अर्को महाधिवेशन नहुने व्याख्या यसमा गरिएको छ ।
तर, त्यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले १० औँ महाधिवेशन अवैधानिक भएकाले नयाँ महाधिवेशन गर्न भन्दै शेष घले नेतृत्वको उच्चस्तरीय विवाद समाधान समिति ब्युँताइदिएको थियो । घलेको सचिवालयका अनुसार, एकता महाधिवेशनमा भाग लिन विभिन्न मुलुकबाट एनआरएन प्रतिनिधिहरू काठमाडौँमा भेला भइरहेका छन् । उच्चस्तरीय समिति तथा निर्वाचन समितिले शुक्रबारदेखि नै होटेल हायातबाट काम सुरु गरेका छन् । समितिले सबै प्रतिनिधिलाई होटेल हायातमै गएर शुक्रबारभित्र डेलिगेट शुल्क तिरिसक्न अनुरोध गरेको छ ।
…..
यस संगै एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो । एनआरएनए एकताको महाधिवेशन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि सोमबारसम्म राजधानीको हायात होटलमा हुँदैछ । शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त ईजलासमा उक्त मुद्दा परेको थियो । व्यक्तिगत इगो र राजनीतिक कारणले विवादमा फसेको एनआरएनएमा सर्वोच्चको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिका संयोजक शेष घले पक्ष र ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी पक्षबीच विवाद रहँदै आएको छ । गत वर्षको चैतमा सर्वोच्चले घलेलाई एकताको महाधिवेशन गर्न परमादेश दिएको थियो ।
महाधिवेशनअघि उनले उक्त महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् । यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको कार्यालयले समेत ६ महिना एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो । तर, सोविरुद्ध फेरि उच्चस्तरीय समितिको पक्षमा राजेश शमशेर राणाले तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने जिकिर गर्दै अर्को मुद्दा दायर गरेका थिए । दुवै मुद्दालाई अदालतमा एकसाथ सुनुवाइ गर्नेगरी पेसी तोकेको भएपनि हेर्न नमिल्ने हुँदै आएकोमा बुधबार पनि सोही क्रमले निरन्तरता पायो । अदालतले अर्को पेसी तोकिसकेको छैन ।
सर्वोच्चमा शुक्रबार पनि दुवै पक्षको मुद्दा एकसाथ राखेर सुनुवाइ गर्नेगरी पेसी तोकिँदा न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दा हेर्न नमिल्ने भएको हो । एकता महाधिवेशनमा विश्वभरका एनआरएनहरु काठमाडौँमा भेला भइसकेका छन् । केसी पक्षका एनआरएनहरु भने महाधिवेशनमा सहभागी नहुने बताएका छन ।
संवाददाता










