काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको एक अभिव्यक्तिका कारण आइतबार प्रतिनिधिसभाको बैठकमा एकाएक हंगामा मच्चियो । तल रास्वपाका सांसदहरुको आफ्नै शैलीको विरोध प्रदर्शन जारी थियो । सिंह बिनियोजित बजेटका विषयमा बोल्दै थिए । उनले आफ्नो धारणा राख्ने क्रममा नेपालका चार–पाँच जिल्लाबाहेक अन्य सबै जिल्ला कुनै देशमा गाभिदिए हुने अभिव्यक्ति दिएका थिए । उनले त्यसपछि सहरी विकास मन्त्रालय अन्तरगत बिनियोजित बजेटका सम्बन्धमा धारणा राख्दै यस्तो बताएका हुन् ।

त्यसपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै सांसद सिंहका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाएर कारबाहीको माग गरे । “नियम २०, २१ र २३ अनुसार मेरो नियमापत्ति हो,” बर्तौलाले आपत्ति जनाउँदै भने, “छलफलमा सहभागी हुनुभएका माननीय सदस्यले आपत्तिजनक विषय यो संसद्मा राख्नुभयो । विनियोजन शीर्षकमा भाग लिनुभएको छ । बाँकी जिल्लालाई अमेरिकालगायतका देशलाई जिम्मा दिऊँ भन्नुभयो । राष्ट्रघाती अभिव्यक्ति हो । यो रेकर्डबाट हटाउनुपर्छ । र, कारबाहीको विषय बनाइनुपर्छ ।”

तर रोकिएनन् अमरेश । उनले पनि आपत्ति जनाउँदै भने, “सर्लाहीमा बजेट किन नराखिदिएको ? यो कारबाहीको विषय हो ?” बर्तौला पनि रोकिएनन् उनले लगातार कारबाहीको माग गर्दै नियमापत्ति जनाइरहे । “यो रेकर्डबाट हटाउनुपर्छ । मुलुकको सार्वभौमिकताको विरुद्धमा एउटा सांसदले रोष्ट्रममा उभिएर जे बोल्नुभयो,” उनले भने, “यो कारबाहीको विषय हुनुपर्छ । थप सचेत गराइनुपर्छ । उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन । समानुपातिक सांसदलाई गाली गलौजको विषय बनाउनुभएको छ । उहाँलाई योभन्दा अघि बढ्न दिइनुहुँदैन । हामी अब सुन्न सक्दैनौँ । उहाँको शब्द हटाएर कारबाहीको विषय बनाइयोस् ।”

बाँकी सांसदहरुले पनि बर्तौलालाई साथ दिएपछि चर्काचर्की भएको थियो । अनि सभामुख घिमिरले पनि सिंहले दिएका अभिव्यक्ति हटाउन निर्देशन दिए । “आसय जे भए पनि पाँच जिल्लाबाहेक अरु मुलुकलाई दिए हुन्छ भन्नुभएको छ । त्यसैले माननीय सदस्यहरु अरु मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भन्ने कुरा असंसदीय भाषा भयो,” सभामुखले यति धारणा राख्नासाथ सिंह थप आक्रोशित देखिए ।

“समय जम्मा सात मिनेट छ । पार्टीको निर्देशन मान्न तयार छैन । सभामुखलाई एमालेले जे भन्यो त्यही मान्ने रु सभामुख एमालेको होइन संसद्को हो । बजेट पनि नजाने रु बोल्न पनि नपाउने रु बजेट किन गएन मलाई कारण चाहिन्छ,” सिंहले आफ्नो सिटमा उभिएका सत्तापक्षका सांसदप्रति आक्रोश व्यक्त गर्दै भने, “तपाईं जसरी आएको हो म पनि त्यही प्रक्रियाबाट आएको हो । यहाँ तपाईंले देशप्रति गद्धार गर्ने ? ३० वर्षमा देशलाई गद्धार बनाएर डुबाउने ?”

सिंह थप आक्रोशित बनेपछि सांसदहरुले पनि उनीमाथि कारबाही हुनुपर्ने धारणा र त्यसपछि सभामुखले भने, “निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईं डायर छाडेर तल जानूस् ” त्यसपछि सिंहले आफ्ना धारणा नराखी सात मिनेट त्यसै बसेर बिताइदिने चेतावनी दिए । “हामीलाई मात्रै रुलिङ गर्ने ? सरकारको बजेट आफैँ कुम्ल्याउने र अन्याय हामी सहदैनौँ,” सिंहले भने, “तपाईंले बोल्न दिनुहुँदैन भने बोल्दिनँ । म यही बस्छु । सबै ज्यादती सहन आएको होइन । हामी राजाको विरुद्ध पनि लडेर आएको हो ।”