काठमाडौँ, २० असार । कुलिङ पिरियडमा भएको बदमासीमा प्रश्न उठेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले संसदीय छानबिन समिति बनेपछि बैठकमा आफू उपस्थित नहुने बताएका छन् ।

सभापति खतिवडाले सभामुख देवराज घिमिरेले समिति गठनको प्रक्रिया सुरु गरेको र गठन भएलगत्तै सभापतिको हैसियतमा आफू बैठकमा नजाने बताए ।

उनले भने, ‘आफू सभापति र समिति सदस्यको रुपमा बैठकमा उपस्थिति हुँदा प्रमाण नष्ट गर्छ भन्ने आशंका हुने भएकाले छानबिन नसकिएसम्म बैठकमा जान्न ।’ सभापति खतिवडाले सो अवधिसम्म सरकारी गाडीको प्रयोग पनि नगर्ने जानकारी दिए ।

सभामुख घिमिरेले बिहीबार मुख्य दलका प्रमुख सचेतकसँग छलफल गर्दै संसदीय छानबिन समितिको क्षेत्राधिकार र समितिमा रहने सदस्यको बारेमा जिज्ञासा राखे ।

राज्य व्यवस्था समितिले कूलिङ पिरियडमा भएको बदमासी सच्याउन राष्ट्रिय सभालाई अपिल गर्ने निर्णय यसअघि नै गरेको छ । राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुराले भने यसअघि नै समिति छाडे ।

झन्डै पाँच घण्टा बसेको बुधबारको बैठकमा समिति सदस्यले समिति छाड्न आग्रह गरेपछि सचिव दुराले जिम्मेवारीबाट अलग भएको बताए ।

समिति सभापति खतिवडाले यद्यपि उनले जिम्मेवारी परित्याग गरेको बारेमा संघीय संसद सचिवालयमा औपचारिक पत्र दिन बाँकी रहेको बताए ।