काठमाडौं, २३ असार । राज्य व्यवस्था तथा परामर्श समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड प्रकरणमा संसदीय समितिले प्रतिवेदन नबुझाएसम्म समितिमा नजाने घोषणा गरेका छन्।

सभामुख देवराज घिमिरेले डाकेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा वडाले समिति गठन भएसँगै आफू केही दिन समितिमा नजाने र सभापति भएबापत पाएको गाडी सुविधा पनि छोड्ने बताएका हुन्।

‘म केही दिन समिति जान्न। आजै गाडी फिर्ता दिएर आफ्नै गाडी चढ्छु,’ उनले भने, ‘समितिले प्रतिवेदन नबुझाएसम्म आजदेखि मैले बैठकको नेतृत्व गर्दिनँ।’

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाकी रोशन कार्की छन्।