काठमाडौं,२३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भूमिका जन्मिएको बताएका छन् । एमालेको पर्यटन विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएको प्रचार गर्न डराउन नहुने बताए ।
’राम जन्मिएको भूमि नेपालमै पर्छ । सायद् त्यहाँ थारु गाउँ थियो कि । अहिले पनि त्यो भू–भाग नेपालमै पर्छ । तर, यति प्रचार गर्न हामी सक्दैनौं । हामी भन्न सक्दैनौं । यति आँट गर्न सक्दैनौं । अप्ठ्यारो मान्छौं । को रिसाउँछ जस्तो लाग्छ, अनि हामी के गरी खान्छौं ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
उनले राम र लक्ष्मणको शिक्षा दीक्षा पनि नेपाली भूमिमै भएको बताए । वाल्मिकी रामायणमा कोशी तरेर पश्चिम गएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालकै पश्चिम भू–भागमा आएको प्रस्ट पारे । तर, कोशीबाट सिधा ताकेर अयोध्या नपुगेको उनको दाबी छ । ’पश्चिमतिर हिंडेको घोडा ताकेरै अयोध्या पुग्छ? यो नहुने कुरा हो। मैले भनिरहन पर्दैन यो सब पौराणिक कथनहरूमा पनि उल्लेख छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले नेपाली भूमिमा जन्मिएरै रामको विवाह पनि सीतासँग भएको बताए । ’त्यहाँ(अयोध्या)को भए त उतै विहे गर्थ्यो होला नि । यहीँको थियो र जाउँ न त एकपटक भनेर जनकपुर गएको हो,’ उनले भने। उनले सीता पनि त्रिशुली र कालीगण्डकी मिसिएको ठाउँतिर समाहित भएको बताए । त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले भगवान शिव र विश्वामित्र पनि नेपालकै भएको बताए ।
संवाददाता










