काठमाडौं, ३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु ,मन्त्री लेखकले भने, जानका लागि भिजिट भिषाको प्रबन्ध कस्ले गर्‍यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।

उक्त विषयको गहन छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ, उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएको थियो । प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डल फर्किएपछि रास्वपाकी सांसद सोविता गौतमले असार २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री सहभागी स्पेनको भ्रमणमा गएकामध्ये केही व्यक्ति नर्फिएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराएका थिइन् ।