काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक भएकी छन् । शुक्रबार दिउँसो भण्डारीले एमाले पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गरिन्

११ कात्तिक २०७२ मा राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारीलाई एमालेले राष्ट्रपति बनाएर शीतलनिवास पठाएको थियो ।

राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर भण्डारीले सदस्यता नवीकरण गरेको घोषणा गरेपछि एमालेभित्रको शक्ति संघर्ष नै बदलिएको थियो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुलाई भण्डारी सक्रिय राजनीतिमा फर्किएको मन परेको थिएन ।

ओलीले त सार्वजनिक मञ्चबाटै पटकपटक अझै २०/२५ वर्ष नेतृत्व नछोड्ने घोषणा गरेका थिए । ओलीलाई आजीवन अध्यक्ष हुन मिल्नेगरी एमालेको विधानहरू संशोधन गरिंदै थियो । तर भण्डारीको चुनौती रोकिएन, बरू अध्यक्ष बन्नेगरी राजनीतिमा फर्किएको सन्देश सार्वजनिक गरिन् ।