काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध सुरु गरेको बताएका छन् । मंगलबार राति भिडिओ सार्वजनिक गर्दै उनले यो त सुरुवात मात्र भएको चेतावनी दिएका छन् ।
इजरायलले गाजामा भीषण हवाई हमला गरिसकेको बेला उनको बयान आएको हो । आक्रमणमा अहिलेसम्म ४०० भन्दा बढी प्यालेस्टिनी मारिएको र सयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ ।
इजरायलको रक्षा बलले जारी गरेको विज्ञप्तिमा हमासका ’आतंकवादी लुकेका ठाउँ’ लाई निशाना बनाएको बताएको छ । आफ्नो बयानमा नेतन्याहुले इजरायली बन्धकहरूलाई रिहा गर्न इजरायलले वार्ता गर्ने प्रयास गरेको तर हमासले हरेकपटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन् ।
गाजामा जनवरी १९ मा युद्धविराम सुरु भएयता इजरायलले सबैभन्दा ठूलो हवाई आक्रमण गरेको हो । हमास र इजरायलबीच भएको सम्झौताअनुसार गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण मार्च ३० रातिबाट सकिएको थियो ।
त्यसपछि अमेरिकी प्रस्तावमा इजरायल युद्धविराम ६ हप्ता लम्ब्याउन सहमत भए पनि हमासले अस्वीकार गरेको थियो । युद्धविराम अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ ।
पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव हमासले अस्वीकार गरेपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यसयता इजरायलले अहिले गाजामा पुनः आक्रमण थालेको हो ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो । जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो । जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट यसअघिसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासले बताएको थियो । त्यसमा अब ४०० जना थपिएका छन् ।
संवाददाता










