भक्तपुर, २२ पौष । भ्रस्टाचार विरोधी अभियन्ता हेम पाठकले सहकारी क्षेत्रमा देखा परेको विकराल समस्याको मुख्य कारण सरकारी निकायको लापरबाही रहेको बताएका छन् ।
नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाठकले सहकारीको रकम कहाँ लगानी भएको छ र त्यो रकम अपचलन त् भएको छैन भन्ने विषयमा सरकारले समयमै अनुगमन नगरेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको समस्याले मुलुकको आर्थिक प्रणालीमा गम्भीर असर परेको र तत्काल समाधान खोजिनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “सहकारी क्षेत्रमा देखिएको आर्थिक संकट दुई प्रमुख कारणले आएको हो । पहिलो, सरकारको सहकारी नीति र दोस्रो, सरकारी निकायको अनुगमनको अभाव । नेपाली जनताले विभिन्न माध्यमबाट जम्मा गरेको पैसा – चाहे त्यो मकै पोलेर, टमाटर बेचेर, दुध बेचेर वा अन्य व्यापार व्यवसायबाट आएको होस्, सबै सहकारीमा जम्मा गरियो । सरकारले सहकारी खोल्ने व्यक्तिको पृष्ठभूमि, क्रेडिट हिस्ट्रीजस्ता महत्त्वपूर्ण पक्षहरू नहेरी जसलाई पनि सहकारी खोल्ने अनुमति दियो । सहकारीले बैंकभन्दा अलि धेरै ब्याज दिने आश्वासन दिएपछि जनताले आफ्नो सबै पैसा त्यहीँ लगानी गरे ।”
संवाददाता










